प्रधानमन्त्रीको रोहवरमा भएको सहमतिबाट पछि हट्यो घले समूह

प्रधानमन्त्रीको रोहवरमा भएको सहमतिबाट पछि हट्यो घले समूह



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाधिवेशनमा शेष घले समूह सहभागी नहुने भएको छ । संस्थापन पक्षले सहमति अनुसारका शर्त पालना नगरेको भन्दै घले समूह एकता प्रक्रियाबाट पछि हटेको हो । सोमबार सम्पन्न बैठकले विभिन्न एजेण्डामा छलफल गर्दै तीन वटा निणर्य गरेको घले समूहका सचिव कृष्ण केसीले जनाएका छन् ।

एक १ महिनाअघि प्रधानमन्त्री पुष्पकमल दाहालको रोवहरमा दुवै पक्षबीच आगामी महाधिवेशन एउटै थलोमा गर्ने सहमति भएको थियो । दशौं महाधिवेशन एकताको महाधिवेशन हुन नसकेको स्वीकार गर्दै एघारौं महाधिवेशन सहमति, सहकार्य र एकताको अधिवेशन बनाउने संकल्पसहित दुवै पक्षबीच ७ बुँदे सहमति भएको थियो ।

सहमतिपत्रमा एनआरएनएका अध्यक्ष बद्री केसी, अर्को पक्षका अध्यक्ष विनोद कुँवर, उपाध्यक्ष जानकी गुरुङ र केसी पक्षका उपाध्यक्ष डीबी क्षेत्री तथा आरके शर्माले हस्ताक्षर गरेका थिए । तर, घले समूहले भने संस्थापन पक्षले सहमति कार्यान्वयन नगरेको आरोप लगाउँदै यसबारेमा सरकारका प्रतिनिधिलाई जानकारी गराउने जनाएको छ ।

‘एकताको ११ औं महाधिवेशनबारेमा अर्को पक्षसँगको संयुक्त बैठकमा भएका ७ वटा निर्णयमध्ये हामीले विश्वभरि नै पहलको पालना गरेको तर, अर्कोपक्षले कार्यान्वयन नगरेकाले सबै कुराको प्रतिवेदनसहित नेपाल सरकारलाई जानकारी गराउने,’ बैठकमा निर्णय भएको छ । यसअघि राष्ट्रिय समितिहरूका दुवै पक्ष मिलेर गर्ने सहमति भएको थियो । तर, संस्थापन पक्षले आफूहरूसँग सहमति पालना नगरी एकलौटी ढंगले एनसीसीको अधिवेशन गरिरहेको घले पक्षको तर्क छ ।

‘राष्ट्रिय महाधिवेशन सम्बन्धमा तत्काल विश्वभरीका सबै एनसीसीहरू सम्मानजनक रुपमा एकता हुने अवस्था नदेखिएकाले एनसीसीहरूले आफ्नो देशको परिस्थिति र विधान अनुसार सदस्यता खुला गर्दै राष्ट्रिय महाधिवेशनको तयारी गर्ने । यसका लागि आरसीसीहरुले पहल गर्ने,’ बैठकको निर्णय छ ।