सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ

सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ



काठमाडौं । सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं जिल्ला प्रहरी परिसर प्रमुख एसएसपी दानबहादुर कार्कीले पक्राउ परेका व्यक्तिलाई प्रहरी वृत्त गौशाला लगिएको बताए । ती व्यक्तिको परिचय भने प्रहरीले केहीबेरमा सार्वजनिक गर्ने उनले बताए ।

सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी ज्वलेर्सको सटर अगाडि आज बिहान शंकास्पद वस्तु फेला परेको थियो । कालो टेपले बेरेको र तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो । तर उक्त बस्तु बम नभइ डर पैदा गर्न मात्र राखिएको पाइएको छ ।

नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उक्त वस्तु निष्क्रिय पारिसकेको छ । शंकास्पद वस्तुसँगै नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चासमेत भेटिएको छ ।

पसलका सञ्चालकलाई बुधबार बिहान नचिनेको नम्बरबाट फोन गरेर पैसा मागिएको थियो । त्यसपछि उनको पसलअगाडि शंकास्पद वस्तु राखिएको हो ।