फोहोरका गाडीलाई बञ्चरेडाँडा जान अवरोध कायमै

फोहोरका गाडीलाई बञ्चरेडाँडा जान अवरोध कायमै



काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेर जाने गाडीमा अवरोध गरिरहेका बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयबासीले अवरोध कायमै राखेका छन् । तर माटो बोकेर गएको गाडीलाई जान दिएका छन् ।

१ साउनदेखि ककनी गाउँपालिकाका जनप्रतिनिधिसहित स्थानीयले काठमाडौंबाट गएको फोहोरको गाडी जान दिएका छैनन् । बिहीबार बञ्चरेडाँडामा दुर्गन्धित भएको फोहोरलाई छोप्न माटो बोकेर २० वटा गाडी जान दिएको ककनी गाउँपालिका-३ का वडाध्यक्ष घननाथ बजगाईंले जानकारी दिए ।

उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)को अध्ययन टोलीले आज बञ्चरेडाँडा ल्यान्डफिल साइटले वरिपरिको बस्तीमा पारेको असर र वातावरणीय प्रभाव मूल्यांकनका लागि जाँदै गरेकाे जानकारी दिए । टोलीले ३ महिनाभित्र अध्ययन प्रतिवदेन बुझाउने बजगाईंले बताए ।

बञ्चरेडाँडामा काठमाडौं उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरु १ साउनदेखि स्थानीयले रोकेपछि उत्पन्न समस्या समाधान गर्न शहरी विकास मन्त्रालयले बुधबार बोलाएको बैठक विना निष्कर्ष टुंगिएको थियो ।