दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन

दार्चुला भन्सारमा लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन



खलङ्गा । दार्चुला भन्सार कार्यालयले आर्थिक वर्ष २०७९/८० मा लक्ष्यभन्दा दोब्बर राजस्व असुली गरेको छ । कार्यालयले आव २०७९/८० मा रु १९ लाख ६८ हजार लक्ष्य राखेकामा त्यसको दोब्बर बढी राजस्व असुली गरेको हो ।

गत आवमा रु ४० लाख ८१ हजार चार सय दुई अर्थात् एक सय सात दशमलव ३८८ प्रतिशत राजस्व सङ्कलन भएको दार्चुला भन्सार कार्यालय दार्चुलाका कार्यालय प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए ।

उनले प्रत्येक वर्ष विभिन्न कारण राजस्वमा ह्रास आउने गथ्र्यो भन्दै गत आवमा भने लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गर्न सफल भएको बताए । गत आवको फागुन महिनामा सबैभन्दा बढी र कात्तिक महिनामा सबैभन्दा कम राजस्व उठेको छ ।

दार्चुलामा मूल भन्सार कार्यालय स्थापना भएदेखि राजस्वमा वृद्धि भएको यो पहिलोपटक हो । पछिल्लो समय नागरिक करको दायरामा आउँदा राजस्वमा वृद्धि भइरहेको कार्यालय प्रमुख प्रसादले बताए । यस्तै कार्यालयले चालु आवमा रु ५० लाख ६९ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको उनले जानकारी दिए ।