गृहमन्त्री श्रेष्ठ विमानस्थलको भन्सार कार्यालयमा

गृहमन्त्री श्रेष्ठ विमानस्थलको भन्सार कार्यालयमा



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पुगेका छन् ।

गत बुधबार करिब एक क्विन्टल सुन बरामद भएपछि गृहमन्त्री श्रेष्ठ भन्सार कार्यालय पुगेका हुन् । श्रेष्ठसँगै नेपाल प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, राजश्व अनुसन्धान विभागका प्रमुख र अध्यागमन कार्यालय प्रमुख पनि भन्सार कार्यालय पुगेका छन् ।

त्यसक्रममा उनले कुनै पनि प्रकारको भ्रष्टाचारको सरकारले निर्मुल गर्ने दाबी गरे । उनले सुन प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्‍याएर छाड्ने दाबी गरे । ‘छानबिन र अनुसन्धानको प्रक्रियालाई यसको जरैसम्म पुग्ने गरी अगाडि बढाउनुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘जस्तोसुकै र जसोसुकै भए पनि यसको नेक्सस र गुटमा पुग्ने गरी कारबाहीको प्रक्रिया अघि बढाउँछौं ।’

मन्त्री श्रेष्ठले भ्रष्टाचारी जुनसुकै पार्टीको भए पनि उन्मुक्ति नपाउने बताए । ‘भ्रष्टाचारको कुरा वा अपराधका घटनाका सम्बन्धमा अनुसन्धान गर्दाखेरि कुनै कोट, कुनै टार, कुनै पार्टी मलाई मतलब छैन,’ उनले भने ।

गत बुधबार अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको करिब एक क्विन्टल सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । यो प्रकरणमा अनुसन्धान गर्न सुन बोकेको ट्याक्सी चालकसहित १० जना पक्राउ परिसकेका छन् ।