एनआरएन अमेरिकाको चुनाव: अर्जुन बन्जाडेको पल्ला भारी

एनआरएन अमेरिकाको चुनाव: अर्जुन बन्जाडेको पल्ला भारी


ग्लोब नेपाल
864
Shares

शनिवार हुन लागेकोको एनआरएन अमेरिकाको निर्वाचनलाई अमेरिकी नेपाली समुदायले चासोका साथ हेरिरहेको छ। आगामी नेतृत्वका लागि डाक्टर अर्जुन बन्जाडे र डिलु पराजुली अध्यक्षको प्रत्यासीका रुपमा मैदानमा छन्। जसमध्ये बोर्ड अफ डाइरेक्टर हुँदै वरिष्ठ उपाध्यक्ष समेत भएर काम गरिसकेका डाक्टर बन्जाडेले चुनाव जित्ने सम्भावना बढी रहेको बुझिएको छ।

बन्जाडेको नेतृत्व समूहलाई एनआरएन अमेरिकाको संस्थापन इतर समूहको रुपमा चिनिन्छ । यो टीमलाई वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ,उपाध्यक्षहरु सुमन थापा,गोपेन्द्र भट्टराई र विकास उप्रेती,महिला उपाध्यक्ष दीक्षा बस्नेत र महिला सचिव सुनिता कंडेल सहितका वर्तमान कार्य समितिका पदाधिकारी र बहुमत सदस्यहरुको समर्थन रहेको छ। उप्रेती त बन्जाडे टीमको वरिष्ठ उपाध्यक्षका उम्मेदवार नै छन् भने भट्टराई महासचिव। यसैगरी सुनिता कंडेल महिला उपाध्यक्षको उम्मेदवार रहेकी छिन्।

आइसीसी महासचिव गौरी जोशी,कोषाध्यक्ष सुनील साह,सचिवद्वय प्रमोद सिटौला र शंकर खड्का,क्षेत्रीय संयोजक प्रकाश सापकोटा, क्षेत्रीय सह संयोजकद्वय पशुपति पाण्डे र पुरुषोत्तम बोहोरा,आइसीसी सदस्य संजीव श्रेष्ठ, एनसीसीका पूर्व कार्य समितिका सदस्यहरु संजय थापा, तिलक केसीलगायतले पनि बन्जाडे समूहलाई नै समर्थन गरेका छन्। यसैगरी नेपाली जनसम्पर्क समितिका सभापति आनन्द विष्टले पनि बन्जाडेको नै समर्थन गरेका छन्। यसले गर्दा पनि बन्जाडेको पल्ला भारी भएको विश्लेषण गरिएको छ।

यसैगरी बन्जाडेको टीम सबै क्षेत्रको प्रतिनिधित्व रहने गरी समेटिएको छ। समावेशी समूह र सबैको प्रतिनिधित्व रहेको साझा टीमको रुपमा बन्जाडेको समूहलाई लिइएको छ। विभिन्न पेशा र व्यवसायमा रहेका कलाकार,चिकित्सक र अन्य क्षेत्रका प्रतिनिधि नेपालीहरुले पनि बन्जाडेलाई नै समर्थन गरेका छन्।

बन्जाडे दुई वर्ष पहिले पनि अध्यक्षका प्रत्यासी थिए। तर त्यो बेला जित्न नसकेका उनी अहिले जित निकाल्नेमा निकै आशावादी छन्। उनले परिवर्तन अवश्यम्भावी छ भन्ने नारासहित आफुलाई निरन्तर एनआरएनका गतिविधिमा केन्द्रीत गर्दै आइरहेका छन्।

निर्वाचनका लागि कूल १२,९०३ साधारण र ७८९ आजीवन गरी १३ हजार ६ सय ९२ जना मतदाता रहेका छन् ।