एनआरएन अमेरिकाको निर्वाचन जारी

एनआरएन अमेरिकाको निर्वाचन जारी


ग्लोब नेपाल
1.3k
Shares

न्यूयोर्क,अमेरिका। गैर आवासीय नेपाली संघ,अमेरिका राष्ट्रिय समन्वय परिषदको नयाँ नेतृत्वका लागि निर्वाचन जारी आज न्यूयोर्कको स्थानीय समय अनुसार बिहान ८ बजे सुरु हुने यो निर्वाचन भोली आइतवार बिहान ८ बजेसम्म जारी रहनेछ। यो निर्वाचनले एनआरएन अमेरिकाको आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। २४ घन्टासम्म अनलाईन प्रविधिमार्फत हुने निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको निर्वाचन समितिले जानकारी दिएको छ। हाल निर्वाचन प्रयोजनका लागि न्यूयोर्कको एक होटलमा कार्यालय नै स्थापना गरेर निर्वाचन समितिले काम गरिरहेको छ। आज हुने निर्वाचनले अमेरिकाको राष्ट्रीय समितिको मात्र नेतृत्व चयन गर्ने छैन यस मातहतका च्याप्टरहरुको समेत नेतृत्व चयन गर्नेछ।

पहिलोपटक नयाँ प्रविधिद्वारा मतदान हुँदै
एनआरएन अमेरिकाको यसपटक सम्पन्न हुन लागेको निर्वाचन नयाँ प्रविधिद्वारा हुनेछ। सदस्यहरुको फेस भेरिफिकेशन प्रविधिको प्रयोग गरी पहिलोपटक यस्तो निर्वाचन हुन लागेको हो। जस अनुसार, मतदाता सदस्य आफैंले आफ्नो फेस भेरिफाई गरिसकेपछि मात्र मतदान गर्न पाउने छन् । ‘हामी त्यसका लागि एनआरएन आइसीसीले सम्झौता गरेको भेरो भन्ने अष्ट्रेलियन कम्पनीसंग समन्वय गरिरहेका छौं र त्यही कम्पनीको प्रविधिबाट सदस्यहरुले मतदान गर्न सक्ने व्यवस्था छ’ शुक्रवार राती निर्वाचन समितिका एक सदस्य प्रियरंजन दाहालले ग्लोब नेपाल डट कमसंगको संक्षिप्त कुराकानीमा भने । अनलाईन मतदानका प्रति विश्वासको संकट देखिदै गएपछि र यस्तो मतदानमा इमेल र पासवर्ड भए जोसुकैले पनि जोसुकैको मत हाल्न सक्ने भएपछि त्यही खस्कदै गरेको विश्वसनीयतालाई कायम राख्न पनि यसरी फेस भेरिफिकेशन प्रविधि अवलम्बन गर्न लागिएको हो।

कति छन् मतदाता र उम्मेदवार ?

यसपटक अमेरिकाको सदस्यता वितरण समेत नयाँ प्रणाली अन्तर्गत गरिएको थियो। आइसीसीले अनिवार्य रुपमा एमाइएस प्रणाली अन्तर्गत रहेर सदस्यता वितरण गर्नुपर्ने निर्देशनपछि सदस्य बन्न चाहने आफैंले अनलाईन आवेदन दिएर आफ्नो विवरण उपलब्ध गराउनु पर्ने व्यवस्था गरिएको थियो। जसले गर्दा आफैं सदस्यता शुल्क हालिदिएर अर्काको सदस्य बनाई दिने विगतको गलत प्रवृत्तिलाई नियन्त्रण गर्ने प्रयास भयो। तर कतिपय उम्मेदवारका आकांक्षीहरुले पैसा दिएर सदस्य बन्न लगाएको चर्चा पनि नचलेको चाहिं होइन। तैपनि धेरै हदसम्म गलत तवरबाट सदस्य बनाउने अभ्यास यसपटक तुलनात्मक रुपमा कम भयो। निर्वाचन समितिले सार्वजनिक गरेको सूचना अनुसार, यसपटक एनआरएन अमेरिकाको निर्वाचनका लागि कूल मतदाता संख्या १३ हजार ६ सय ९२ रहेको छ। जस अनुसार १२ हजार ९ सय ३ साधारण सदस्य र ७ सय ८९ जना आजीवन सदस्यले यो निर्वाचनमा मतदान गर्ने अधिकार पाएका छन्। यी मतदाताहरुले अमेरिकाको केन्द्रीय समिति र मातहतका विभिन्न च्याप्टरका समेत गरी ३ सय ६१ जनालाई निर्वाचित गर्नेछन्। हाल अमेरिकामा एनआरएनका २७ वटा च्याप्टर छन् जसमध्ये कतिपय च्याप्टरमा निर्विरोध नेतृत्व समेत चयन भैसकेको छ। ‘भोली मतपत्र प्राप्त भएपछि कति उम्मेदवार रहेछन भन्ने थाहा भैहाल्छ नि’ निर्वाचन समितिका अर्का एक सदस्यले शुक्रवार राती संचारकर्मीहरुसंग भने। आफुहरुले नियमित इमेल मार्फत सदस्यहरुलाई जानकारी प्रेषित गर्ने गरेको दाबी निर्वाचन समितिको छ। तर कतिपय सदस्यहरुले आफुहरुले कुनै इमेल प्राप्त नगरेको गुनासो पनि गरेका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता सूची यो लिंकमा यहाँ क्लिक गर्नुस् उपलब्ध छ।

एक हजार ६ सय भन्दा बढी आजीवन सदस्य मतदानबाट बन्चित
राष्ट्रीय समन्वय परिषदको कमजोरीका कारण यो निर्वाचनमा संस्थाका १६०० भन्दा बढी आजीवन सदस्यहरुले आफ्नो संस्थाको नेतृत्व चयन गर्ने प्रक्रियामा भाग लिन नपाउने भएका छन्। ‘यति धेरै आजीवन सदस्यलाई बाहिर राखेर गरिने निर्वाचनले दिने परिणामप्रति कसरी सबैको विश्वास रहला र ?’ मतदानबाट बन्चित गरिएका एक आजीवन सदस्यले गुनासो गरे। निर्वाचन प्रमुख बसु फुलारा भने यो समस्याका बारे आफुहरुले केही गर्न नसक्ने बताउँछन्। ऊता एनसीसी र आइसीसीका तर्फबाट भने आजीवन सदस्यहरुको अधिकार हननका बारे औपचारिक रुपमा कुनै जानकारी दिइएको छैन।

कस्तो छ चुनावी सरगर्मी ?
यसपटक डाक्टर अर्जुन बन्जाडे र डिलु पराजुली आ आफ्नो समूहसहित नेतृत्वका लागि मैदानमा छन्। बन्जाडे यस पहिले बोर्ड सदस्य र वरिष्ठ उपाध्यक्ष रहिसकेका छन् भने पराजुली च्याप्टर नेतृत्व हुँदै हाल एनसीसीको उपाध्यक्ष रहेका छन् । उनी संस्थापन पक्षीय उम्मेदवार हुन् भने बन्जाडे संस्थापन इतरका। एक अध्यक्ष,एक वरिष्ठ उपाध्यक्ष, एक महिलासहित पाँच उपाध्यक्ष,एक महासचिव,एक सचिव, एक कोषाध्यक्ष, एक सह कोषाध्यक्ष,एक महिला सचिव,एक महिला संयोजक,एक युवा उपाध्यक्ष,एक युवा संयोजक,चार क्षेत्रीय संयोजक र १२ जना बोर्ड सदस्यका लागि निर्वाचन हुँदैछ। ३१ जनाको यो कार्य समितिका लागि अध्यक्षका दुवै उम्मेदवारले आ आफ्नो समूह बनाएका छन् भने ८ जना आइसीसी सदस्यका लागि ११ जनाले प्रतिष्पर्धा गर्दै छन्। यसैगरी १५ सदस्यीय च्याप्टर नेतृत्वका लागि पनि कतिपय च्याप्टरमा टीमसहितको चुनावी प्रतिष्पर्धा नै हुँदैछ। विभिन्न कार्य योजनाको घोषणा पत्र नै बनाएर अध्यक्षका प्रत्यसीद्वय चुनावी मैदानमा छन्। आज हुने यो निर्वाचनलाई चुनावी सरगर्मी जस्तो देखिएता पनि सबैले चासोका साथ हेरेका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको विभिन्न पदका प्रतिष्पर्धी उम्मेदवारहरुको सूचीका लागि यहाँ कि्लक गर्नु हाेला।

संस्थापन पक्षीय अध्यक्षका प्रत्यासी पराजुलीलाई आइसीसी महासचिव एवं एनआरएन अमेरिका पूर्व अध्यक्ष डाक्टर केशब पौडेल र वर्तमान अध्यक्ष बुद्धि सुबेदीलगायतको समर्थन रहेको छ। यसैगरी अर्का प्रत्यासी डाक्टर बन्जाडेलाई आइसीसी अध्यक्ष रबिना थापा,महासचिव गौरी जोशी,सचिवद्वय प्रमोद सिटौला र शंकर खड्का,कोषाध्यक्ष एवं एनसीसी अमेरिकाका निवर्तमान अध्यक्ष सुनील साह, क्षेत्रीय संयोजक प्रकाश सापकोटा, क्षेत्रीय सह संयोजकद्वय पशुपति पाण्डे र पुरुषोत्तम बोहोरा,आइसीसी सदस्य संजीव श्रेष्ठ, एनसीसी बोर्डका पूर्व सदस्यद्वय संजय थापा र तिलक केसीसहित कांग्रेस,एमाले,माओवादी र राप्रपा निकट संघ,संगठनका प्रमूखहरुको समर्थन रहेको छ।

यसैगरी वर्तमान कार्य समितिका वरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थसहित उपाध्यक्षहरु सुमन थापा,विकास उप्रेती,गोपेन्द्र भट्टराई,महिला उपाध्यक्ष दीक्षा बस्नेत, महिला सचिव सुनिता कंडेलसहितका बहुमत सदस्यहरुले पनि बन्जाडेको नै समर्थन गरेका छन् ।

चुनावी परिणाम मतदान सकिएको २४ घन्टाभित्र सार्वजनिक गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।