काठमाडौं । बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस नेता शशांक कोइराला र शेखर कोइरालाले मंगलबार बेग्लाबेग्लै चियापान कार्यक्रमको आयोजना गरे । शशांकले बिहान ८ बजेबाट लैनचौर बैंक्वटमा पार्टी केन्द्रीय सदस्यको सम्मानमा चियापान कार्यक्रम आयोजना गरेका थिए भने शेखरले बत्तिपुतलीस्थित अनुपम फुडल्यान्डमा विचार गोष्ठीसहित चियापान कार्यक्रम आयोजना गरेका हुन् ।
शशांकको चियापानमा कृष्ण सिटौला र महामन्त्री विश्वप्रकाश शर्माबाहेक प्रायः सबै केन्द्रीय सदस्यको उपस्थिति थियो । चियाको चुस्कीसँगै शशांकले ४ मिनेट बोलेका थिए । नेपालको राजनीतिमा कांग्रेसको विकल्प नभएको प्रसँग जोड्दै पूर्वमहामन्त्री शशांकले कांग्रेसको विगत उदिनेर मुस्किलले ४ मिनेट बोलेका थिए । त्यसपछि कोही पनि बोल्न मानेनन् । पहिला शेखरलाई बोल्न आग्रह गरिएको थियो, उनले आफूसँग बोल्ने कुरा केही नभएको भन्दै पन्छिए ।
त्यसपछि पार्टी सभापति शेरबहादुर देउवालाई बोल्न आग्रह गरियो । निक्कै ढिपी गरेपछि सभापति देउवाले माइक समाएर एकछिन अकमकिए र लगभग २० सेकेन्ड जति बोले । उनले भने, शशांकजीले चिया मात्र खुवाउनु भयो, खुशी लाग्यो ।’
चियापानमा सभापति देउवाले केही नयाँ कुरा बोल्ने अनुमान गरिएको थियो । तर उनले किन बोल्न चाहेनन्, त्यो भने रहस्यकै विषय बनेको थियो । केन्द्रीय समितिको बैठक चलिरहेको बेला विवादस्पद कुरा बोलिने डरले कोही पनि पदाधिकार बोल्न तयार नभएको बताइन्छ ।
यता, दिउँसो अनुपम फुडल्यान्डमा शेखर कोइरालाले आयोजना गरेको चियापान तथा ‘वर्तमान राजनीतिक चुनौति र कांग्रेसको दायित्व’ विषयक विचार गोष्ठीमा महामन्त्री गगन थापाको व्यापक खोजी भएको थियो । शेखर समूहका व्यक्तिहरुलाई मात्र आमन्त्रण गरिएको उक्त कार्यक्रममा महामन्त्री गगनको विषयमा गरिएको टिप्पर्णी निक्कै पेचिलो बनेको थियो ।
अन्तिम समयसम्म पनि गगन नआएपछि शेखरले सहभागीलाई स्पष्टिकरण दिएका थिए । महामन्त्री गगनको सल्लाह र सहमतिमा कार्यक्रम आयोजना गरिएको हो, उहाँ कार्यक्रममा आयोजक नै हुनुहुन्छ । अन्तिम समयसम्म नआउँदा फोन गरियो, उहाँको फोन अफ रहेको भनेर शेखरले कार्यक्रममा सहभागीलाई जानकारी गराएका थिए ।
नेता शेखरको कार्यक्रममा गगनको अनुपस्थितिलाई कित्ता अलग भएको विश्लेषण गरिएको छ । केही समय अगाडिदेखि शेखर र गगनको कित्ताकाट भएको चर्चा सञ्चारमाध्यममा आएका छन् । नेता शेखर सभापतिसँग नजिक भएको चर्चालाई आजको कार्यक्रममा गगनको अनुपस्थितिले पुष्टि गरेको कतिपय कांग्रेसजनको बुझाइ छ ।


प्रतिक्रिया