निलम्बित डीएसपी ठगबहादुर केसी बर्खास्त

निलम्बित डीएसपी ठगबहादुर केसी बर्खास्त



काठमाडौं । नेपाल प्रहरीका डिएसपी ठगबहादुर केसीलाई बर्खास्त गर्ने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले एक महिनाअघि गरेको सिफारिस अनुसार गृह मन्त्रालयमा सचिव दिनेश भट्टराईले उनलाई मंगलबार बर्खास्त गरेका हुन् ।

प्रहरी प्रधान कार्यालयले आन्तरिक छानबिनबाट गम्भीर आचरण उल्लंघन गरेर प्रहरी ऐन विपरीतको कार्य गरेको देखिएको भन्दै केसीलाई जागिरबाट हटाउन गृह मन्त्रालयसमक्ष सिफारिस गरेको थियो ।

बुटवलमा रहँदा डीएसपी केसीको निवासबाट प्रहरीले ३५ तोला सुन, ८ लाख ५० हजार रुपैयाँ नगद, ९ लाख ५० हजार रुपैयाँको चेक लगायत बरामद गरेको थियो ।

लगत्तै छानबिनका लागि तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन भएको थियो । समितिले केसीलाई फौजदारी कसूर अन्तर्गत छानबिन गर्न सिफारिस गरेपनि आन्तरिक छानबिन मात्र भएको थियो ।