अर्थमन्त्री महतद्वारा विमानस्थल भन्सार कार्यालयको निरीक्षण

अर्थमन्त्री महतद्वारा विमानस्थल भन्सार कार्यालयको निरीक्षण

दृढताका साथ काम गर्न कर्मचारीलाई निर्देशन



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यलयको निरीक्षण गरेका छन् । विमानस्थल भन्सारबाट ठूलो परिणाममा अवैध सुन भित्रिने गरेको तथ्य खुलेपछि अर्थमन्त्री डा.महत कार्यलयको निरीक्षणमा पुगेका हुन् ।

अर्थमन्त्री महतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भन्सार विभागमा कार्यरत कर्मचारीलाई दृढताका साथ काम गर्न निर्देशन दिएका छन् ।

आज विमानस्थल अनुगमनपछि उनले आगामी दिनमा कुनै पनि बाहानामा वा कुनै पनि तबरबाट गैरकानुनी काम हुन नदिने प्रयासका लागि जिम्मेवार हुन आग्रह गरे ।

“अपराध र तस्कारी गर्ने मनसाय भएका व्यक्तिले नयाँ–नयाँ प्रविधिको प्रयोग गरिरहेका हुन्छन्, हामीले पनि हाम्रो प्रविधि समय सापेक्षा अपग्रेड गर्नुपर्ने हुन्छ”, उनले भने ।

मन्त्री महतले विमानस्थलमा भन्सार प्रक्रिया पूरा गरी सामान आउँदै गर्दा केकस्ता प्रक्रिया पूरा गर्नुपर्छ र प्राविधिकरुपमा के कस्ता समस्या छन् भन्ने विषयमा जानकारी लिएका थिए ।

“अराइभलदेखि डिपार्चर र कार्गो क्षेत्र सबैमा अनुगमन भयो, काम कसरी भइरहेको छ भन्ने हेरिएको छ”, उनले भने, “सम्बन्धित निकायको समन्वयकारी भूमिका भएमा खण्डमा सुन तस्करी जस्ता गैरकानुनी गतिविधि अन्त्य गर्न सकिन्छ ।”

गत असार ३० गते हङकङबाट क्याथे प्यासिफिक एयरलायन्सको कार्गो विमानबाट ‘ब्रेक शु’मा राखेर अवैध सुन ल्याउने गरेको खुलेको थियो । विमानस्थल भन्सार कार्यलयबाट जाँचपास भएको उक्त अवैध सुन राजश्व अनुसन्धानको टोलीले समातेको थियो ।

यसपछि, भन्सार कार्यालयमा कार्यरत तीनजना कर्मचारीलाई निलम्बन गरिएको थियो भने राजश्व अनुसन्धान विभागको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । यसबीचमा सरकारले विमानस्थल भन्सार प्रमुख समेत फेरिसकेको छ । विमानस्थल भन्सार कार्यलयमा टोकराज पाण्डेलाई पठाएको छ ।