सप्तरी । सप्तरीमा निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटाको निवेदन टुङ्गो लगाइएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार सप्तरीमा केही दिनयता मिटरब्याजसम्बन्धी ८१ निवेदन फर्छ्योट भएका छन् । सप्तरी मिटरब्याजसम्बन्धी एक हजार पाँच सय ७९ निवेदन परेका छन् । निवेदनबारे जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिए ।
‘अहिले दुई ठाउँमा राखेर छलफल भइरहेको छ, छिटोभन्दा छिटो मुद्दा टुङ्गियोस् भन्ने हाम्रो चाहना छ’, उनले भने । थापाका अनुसार मिटरब्याज पीडितले दिएको निवेदनका आधारमा पीडित र पीडकलाई बोलाएर छलफल गर्ने गरिएको छ ।
पीडित र पीडकको तर्फबाट एक/एकजना, जिल्ला प्रशासन कार्यालयका एकजना र जिल्ला प्रहरी कार्यालयका एकजना राखेर छलफल चलाइएको प्रजिअ थापाले बताए । आवश्यक पर्दा मालपोत र नापी कार्यालयका कर्मचारीलाई पनि छलफलमा सहभागी गराइने गरेको उनले बताए । थापाका अनुसार अहिलेसम्म आठ सय तीन पटक छलफल भइसकेको छ । निवेदन परेका मिटरब्याजसम्बन्धी ८१ वटा निवेदन फर्छ्योट हुँदा चार करोड ७६ लाख रुपैयाँ तिराइएको छ । २ करोड ८८ लाख ४४ हजार बराबारका तमसुक च्यातिएको छ । १२ बिघा १२ कठ्ठा १६ धुर जग्गा पीडितलाई फिर्ता गरिएको प्रजिअ थापाले जानकारी दिए ।
प्रतिक्रिया