डेङ्गी सङ्क्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी

डेङ्गी सङ्क्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी


ग्लोब नेपाल
162
Shares

काठमाडाैं । डेङ्गी भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीका अनुसार गत पुसयता मात्र पाँच हजार छ सय ८८ जनामा सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ ।

उनले लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको बताए । यही साउन १० गते चार हजार छ सय १९ जनामा देखिएको सङ्क्रमण त्यसपछिको पाँच दिनमा त्यो सङ्ख्या बढेर पाँच हजार छ सय ८८ मा पुगेको छ ।

डेङ्गी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी रोग लाग्दछ ।

यसपटक कोशी प्रदेशमा सङ्क्रमण बढेको पाइएको छ । कोशी प्रदेशमा तीन हजार आठ सय २१, बागमती प्रदेशमा नौ सय ६२, गण्डकी प्रदेशमा तीन सय ५७, सुदूरपश्चिम प्रदेशमा तीन सय २५, लुम्बिनी प्रदेशमा एक सय ७०, कर्णाली प्रदेशमा २७ र मधेश प्रदेशमा २६ जनामा सङ्क्रमण देखिएको छ ।

१० जिल्लामा बढी सङ्क्रमण

नयाँ देखिएका बिरामीमध्ये चार हजार नौ सय ३९ (८७ प्रतिशत) बिरामी १० जिल्लाका रहेका छन् । सबैभन्दा बढी सुनसरी जिल्लामा तीन हजार चार सय ८६, धादिङ छ सय ५५, कास्की दुई सय आठ, दार्चुला एक सय ९१, काठमाडौं ९६, सङ्खुवासभा ७५ जना, म्याग्दी ५८, मोरङ ५७, कञ्चनपुर ५७ र झापा ५६ जनामा डेङ्गीका बिरामी भेटिएका छन् ।