मन्त्रीद्वयलाई बधाई दिँदै सांसद खतिवडाले भने, ‘पुल र अस्पताल निर्माणका लागि तत्काल पहल गर्नुस्’

मन्त्रीद्वयलाई बधाई दिँदै सांसद खतिवडाले भने, ‘पुल र अस्पताल निर्माणका लागि तत्काल पहल गर्नुस्’



ओखलढुंगा । संयोग नै मान्नुपर्छ, ओखलढुंगाबाट प्रदेशसभामा निर्वाचित प्रदीपकुमार सुनुवार र बाबुराम गौतम दुवै सांसद नवगठित कोशी प्रदेश सरकारमा सहभागी छन् । प्रदेश सरकारमा ओखलढुंगा प्रदेश (क) बाट निर्वाचित नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री र प्रदेश (ख) बाट निर्वाचित माओवादी केन्द्रका बाबुराम गौतम आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन् । उनीहरुलाई फोनमार्फत् बधाई दिँदै संघीय सांसद रामहरि खतिवडाले पहिरे खोलाको पुल र टोक्सेल अस्पताल निर्माणको लागि रकम व्यवस्थापन गरी काम सुरु गर्न अनुरोध गरेका छन् ।

यसअघि असार २१ गते बनेको प्रदेश सरकारमा पनि सुनुवार मन्त्री र गौतम सभामुख थिए । तत्कालीन सरकार निर्माणमा बहुमत पुर्‍याउन सभामुखको समेत दस्तखत गरेको भनेर सर्वोच्च अदालतमा मुद्दा परेको थियो । अदालतले सरकार निर्माण अवैधानिक भनेपछि सभामुख गौतमले राजीनामा गरेपछि गठबन्धनका उम्मेदवार उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठन भएको हो । थापा नेपाली कांग्रेस संसदीय दलका नेता हुन् ।

प्रदेश सरकारमा ओखलढुंगाबाट दुवैजना सांसद मन्त्री बनेपछि यतिबेला ओखलढुंगाबासी उत्साहित बनेका छन् । चुनाव अगाडि बाचा गरेको आयोजनाहरु अब पूरा हुने अपेक्षा आम ओखलढुंगावासीको छ । यसैलाई मध्यनजर गर्दै सांसद रामहरि खतिवडाले चर्चित पहिरे खोलाको पुल र टोक्सेल अस्पताल निर्माणमा अग्रसरता लिन जोड दिएका छन् । सांसद खतिवडाले नै केन्द्रदेखि प्रदेशसम्म पहल गरेर रकमको सुनिश्चितता भएर पूर्वाधार विकास कार्यालय ओखलढुंगाले गत बैशाख १३ गते पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो । तर, तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले श्रोत सहमति खारेज गर्ने निर्णय गरेपछि चर्चित पहिरे खोला पुलको ठेक्का प्रकृया स्थगित भएको थियो ।

राजनीतिक प्रतिशोधका कारण रद्द गरिएको आयोजना अब कांग्रेसको नेतृत्वमा सरकार र ओखलढुंगाका दुवैजना सांसद मन्त्री भएको बेला पूरा गर्नुपर्ने सांसद खतिवडाले बताए । ‘पहिरे खोलाको पुल र टोक्सेल अस्पताल निर्माणको लागि तत्काल रकम व्यवस्थापन गर्न दुवै मन्त्रीलाई आग्रह गरेको छु । त्यसका लागि प्रदेशदेखि केन्द्रसम्म समन्वयन गर्न म तयार छु । यी आयोजना हामी कुनै पनि हालतमा पूरा गरेरै छोड्छौं’सांसद खतिवडाले ग्लोब नेपालसँग भने ।