एनआरएनए अध्यक्षका प्रत्यासी श्रेष्ठको पाँच रणनीतिमा के छ ?

एनआरएनए अध्यक्षका प्रत्यासी श्रेष्ठको पाँच रणनीतिमा के छ ?


ग्लोब नेपाल
783
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यकालको नेतृत्वका लागि वर्तमान उपाध्यक्ष महेशकुमार श्रेष्ठले छिट्टै उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । २०२३–०२५ को कार्यकालका लागि उनले पाँच रणनीति र २५ योजनाका साथ उम्मेदवारी घोषणा गरेका हुन् । श्रेष्ठले अगस्टको अन्तिम साता औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने बताएका छन् ।

एनआरएनएको ११ औं महाधिवेशन आगामी अक्टुवरमा काठमाडौं हुँदैछ । उपाध्यक्ष र कोषाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका श्रेष्ठले एनआरएनएमा समन्वयात्मक भुमिका निभाउन सक्ने नेताको परिचय बनाएका छन् ।

श्रेष्ठले गैरआवासीय नेपालीको हकहित, नेपालको समृद्धि र विकासमा एनआरएनए, गैरआवासीय नेपाली संघलाई संस्थागत गर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र युवाहरुलाई एनआरनएमा जोड्ने रणनीतिक योजनाका साथ उम्मेद्वारी घोषणा गर्ने तयारी गरेका हुन् ।

आफ्ना रणनीतिलाई कार्यान्वयन गर्न २५ योजना समेत बनाएका छन् । आगामी कार्यकालमा पूरा गर्न सक्नेगरी योजना समेटिएको छ ।

एनआरएनएमा नेतृत्वले सबैलाई मिलाउन नसक्दा अभियानमै नकारात्मक असर देखिएको जगजाहेर छ। विश्वमा रहेका नेपालीलाई विभाजन भन्दा जोड्ने प्रयत्नको लागि अध्यक्षमा उम्मेद्वारी दाबी गर्न लागेको श्रेष्ठ बताउँछन् । विश्वका विभिन्न ठाउँमा छरिएका पुराना र नयाँ सबै एनआरएनए जोडेर कार्यसमिति बनाउने अध्यक्षका प्रत्यासी श्रेष्ठ बताउँछन् ।

‘एनआरएनएमा अहिले मेलमिलाप, एकता र सहमति गरेरै अघि बढ्ने परिस्थिति रहेको छ,’ श्रेष्ठले भने, ‘गफ लगाउनेमा विश्वास गर्दैनन् परिणाममुखी काम गर्नुपर्छ।’

कायचु युर्निभर्सिटी टोकियोमा पीएचडी गरिरहेका श्रेष्ठले एनआरएनएको पदाधिकारी भएर सफल नेतृत्व गरिसकेका छन्। २०१९–०२१ मा कोषाध्यक्ष हुँदा एनआरएनएलाई संस्थागत विकास गर्नको लागि ठूलो भुमिका निभाएका छन्।

ग्लोबल युर्निभर्सिटी जापानबाट एमबीए गरेका उनी कोषाध्यक्ष हुँदा एनआरएनएको फाइनान्सियल सिस्टम भद्रगोल रहेको थियो। २०० बढी बेरुजुका चाङ रहेका थिए। टेन्डर आह्वान गर्नुपर्ने काममा पनि सोझै खरिद गर्दा धेरै बेरुजुलगायतका वेथिति देखिएका थिए। एनआरएनए घाटामा रहेको थियो। श्रेष्ठले अध्ययन र व्यवसायीक अनुभवले एउटा नियमावली बनाएरै फाइनान्सियल सिस्टम बसालेका छन्।

व्यवसायमा सफल श्रेष्ठ एनआरएमा पनि वार्षिक बजेट ल्याई काम थाले। हरेक ३ महिनामा आन्तरिक अडिट र वार्षिक रुपमा बाह्य अडिट गर्ने सिस्टम बसाल्नमा महत्वपूर्ण भुमिका खेलेका छन्।

श्रेष्ठको नेपाल र जापानमा थुप्रै कम्पनीमा लगानी रहेको छ। जापानमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको अध्यक्ष तथा सिइओ, टोनल कम्पनी लिमिटेडको अध्यक्ष र सिइओ, जेएन कृषि कम्पनी लिमिटेड, सिटी ट्राभल एन्ड टुर कम्पनीमा निर्देशक रहेका छन् ।

नेपालमा मनी ट्रान्सफरसहित, ट्राभल, हाइड्रो, पर्यटन, आईटी क्षेत्रमा जोडिएका छन् । सिटी एक्सप्रेस मनी ट्रान्सफर, सिटी एक्सप्रेस म्यानेजमेन्ट, सिटी टेक, सिटी इन्भेष्टमेन्ट फण्ड प्रालि, हिमालयन पावर पार्टनर, एनआरएनए इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लि., द क्लिफ प्रा.लिमा प्रमोटर तथा सल्लाहकार रहेका छन्।

एनआरएनएलाई प्रविधि मैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार पनि हुन् उनी । उनले एक पटकको नेपाली सधैंको नेपाली भन्ने नारालाई आत्मसाथ गर्दै विश्वभर रहेका नेपालीमा परिरहेका समस्या समाधानमा अग्रसर हुने बाचा गरेका छन् ।

विश्वभरका नेपालीलाई जोड्ने सँगसँगै नेपालमा लगानी, सम्पत्ति सुरक्षा, नागरिकताको समस्या समाधानको नेतृत्व लिन चाहेका छन्। अबको एनआरएनए निर्वाचनमा श्रेष्ठसँगै हालका अध्यक्ष बद्री केसी रसिया, अध्यक्ष रविना थापा अमेरिका, उपाध्यक्ष आरके शर्मा कतार र महासचिव केशव पौडेल अमेरिकाले निर्वाचनमा उठ्ने सार्वजनिक गरिसकेका छन् ।