आकाशमा क्रस यात्रा

आकाशमा क्रस यात्रा



हरिले अन्तरिक्ष यानमा चढ्ने बेला स्वर्गीय पितालाई सम्झेर भन्यो, ‘बाबा ! हजुरको सपना पूरा गर्दैछु । नेपालका लागि पहिलो अन्तरिक्ष यात्री भएर विश्व किर्तिमान कायम गरेर हजुरको सपना पूरा गर्नेछु ।’

नासामा सामेल हुनुपूर्व हरिले ब्याचलर्स डिग्री सकेपछि साथीहरुसँगै अमेरिका अध्ययनका लागि गएको थियो । कोलोराडो युनिभर्सिटीबाट एरोस्पेस इन्जिनियरिङमा डिग्री ग-यो । कमर्शियल पाइलटको लाइसेन्स लियो । सिल्पेन, ग्ल्याडर उडाउनमा पोख्त बन्यो । र, पनि बाबाको सपना त पूरा गरेजस्तो लागेन । अन्ततः अमेरिकाको नागरिकाता लियो र नासामा सामेल भयो ।

आमालाई साथैमा लग्यो । नेपालमा फराकिलो महलमा बस्ने बानी लागेको आमालाई अमेरिका साँगुरो लाग्यो । हरि ट्रेनिङको लागि रुस गयो । आमाले निस्सासिदैँ दुई महिना छोराको रुममा केयर टेकरको साथमा बिताइन् । रुसबाट फर्केपछि आमालाई नेपाल पु-याउन गयो । त्यही बखत एकदिन ठमेल घुम्न जाँदा कान्छीसँग भेट भएको थियो । उनी पनि अमेरिकै पढ्ने रैछिन् । उनी टाटु खोप्न भनी ठमेल गएकी रहिछन् । हुन त उनको जीउमा धेरै ठाउँ टाटुले भरिएको थियो । तर हरिसँग भेट भएको बखत हरिको इन्कारमा उनले टाटु खोपाइनन् । किन हो, कान्छीलाई हरिको कुरा मान्न मन लाग्यो र हरिलाई पनि कान्छीमाथि अधिकार जताउन मन लाग्यो । सायद मान्छेलाई लामो समय स्वतन्त्रताको उपभोग पश्चात् कसैको अधिनको तिर्सना पनि लाग्दो हो ।

ती दुबैले ठमेल फन्को लगाए । बडो मायाले नेपाली भाषा बोले । अङ्ग्रेजी बोल्दा दिमागले बोले पनि नेपाली बोल्दा चाहिँ पूरै हृदय स्वचालित भएको अनुभूत भयो । खासमा कान्छी भर्खर ब्रेकअप भएको प्रेमीको नाम मेट्न भनेर गएकी रहिछन् ।

हरिले भन्यो, ‘किन मासु दुखाउँछौ ? रहन देऊ न त्यतिकै ।’

कान्छीले भनी, ‘नयाँ प्रेमी बनाउँन यसले डिस्टर्व गर्छ ।’

‘मलाई त गर्दैन ।’ हरि मसुक्क हाँस्यो ।

‘तिमी प्रेमी हो त ?’ कान्छी पनि हाँसी । दुई आँखाको बीचमा स्वयम्भूका आँखा चित्र खुम्चिने गरी अनवरत हाँसीरही केहिबेर । कम्मरमुनि टाइट स्ल्याक्स र माथि ह्वार्लाङगको जुइनावाला भेष्ट । भित्र निलो ब्राले इमान्दारिका साथ उनको स्तनको सुरक्षा गरेको थियो । गाला पोक्चो भइकन पनि हाइट र चेप्टो फिगर सुहाएको थियो । कपाल खैरो तर लामो थियो । भेष्टको त के कुरा गर्नु, मान्छे जता ढल्क्यो उतै थुप्रिन्थ्यो ।

उनीहरुले कफी पिए । पैसा तिर्न कान्छीले गोजी छामी । हरिले भन्यो, ‘नेपाली चलन गरौं न ।’

‘कस्तो ?’

‘छोरा मान्छेले तिर्ने’ यति भनेर दुबै हाँसे । हरिले तीनसय ति¥यो । साँझ पर्नै लागेको थियो । हरिले कान्छीलाई आफ्नो घर लग्यो । एकैछिन आमासँग भेटाएर उसको घर महाबौद्ध पठाइदियो ।

‘समय हुँदा नेपाल बसिन्जेल आउँदै गर है,’ भनेर हरि अमेरिका उड्यो । उसले दुई महिना स्वीमिङ पुलमा स्पेस यात्राको लागि अभ्यास गर्नु थियो । सामाजिक कार्यहरू गर्नु थियो । जि फोर्सको अभ्यास गर्नु थियो ।

कान्छी अब बारम्बार हरिको आमालाई भेट्न गइरहन्थी । एकदिन आफ्नी आमालाई पनि लिएर गई । कान्छीको वश्त्र फेरिन थालेको थियो । कुर्ता लगाउन लागेकी थिई । सहयोगी गोमालाई किचनमा सघाउँथी । हरिको आमालाई मनपर्ने खानेकुरा बनाउन सिक्न थाली । मकैको ढिंडो बाट्न, कोदोको खोले पकाउन र सिस्नु पकाउन पनि सिकी । ती चिजहरु खान चाहिँ अलिक जानिन् । नजिकै जिम हाउस थियो, बिहान जीम जान्थी, बेलुका वाकिङ । बिस्तारै उसले आमालाई पनि हिडाउन थाली । हरिको आमालाई कान्छी आफ्नै बडिगार्ड भैं लाग्न थालेको थियो । केही दिन कान्छी नआउँदा घर शुन्य लाग्न थालेको थियो । हरिले आमासँग बोल्दा कान्छीसँग पनि बोल्न थाल्यो । कान्छी यसै त्यो घरको सदस्य हुन पुगी । गर्दागर्दै कान्छीको विदा सकियो । ऊ पनि अमेरिका फर्कि ।

हरिलाई आफ्नो जन्म एकदम पर्फेक्ट समयमा भएको लाग्थ्यो । अब ऊ पन्ध्र दिनका लागि सोलार रिडको ओरिजिनल स्टडीको लागि स्पेसलिष्टको भूमिकामा अन्तरिक्ष यात्रामा जाने अवसर प्राप्त ग-यो । मिसन कमाण्डर माइकल हज्ब्याण्ड, पाइलट कोली मिसेललगायत छ जनाको टिम आआफ्ना काममा खटिने भए । त्यो बाहेक नौ, दश घण्टा आरामले निदाउँनु पर्ने भएकाले स्लिपिङ बक्सभित्र घुस्रिनुपूर्व केही फिजिकल काममा लाग्नुपर्ने हुन्छ । त्यसैले हरि भर्खरै जीम गरेर आयो । आफ्नै पिसावबाट प्युरिफाइड पानी पियो । एकैछिन् गीटार बजाएर स्वर्गीय पितालाई सम्झदै ‘लाहुरे दाइको रेलिमाई फेसनै राम्रो…’ भन्ने गीत गायो । प्याकेट खोलेर खाना खायो । पृथ्वीमा आफन्तसँग बोल्ने टाइम भएछ । ग्रीनवीच घडीले समय बतायो । कम्प्युटरमा हे-यो, कान्छी फोन होल्डमा राखेर हरिको पर्खाईमा थिई । हरिले ‘हेल्लो’ भन्यो । एकैसाथ नेपालबाट आमा र अमेरिकाबाट कान्छीले एकै चोटि ‘हेल्लो’ भने । कम्प्युटरमा बोलेको कुरा लाउड स्पिकरमा राखेर नेपालमा आमा हिमालशोभाले समेत सुन्ने बनाउँथी कान्छीले । आमाले एकदम सपना बिग्रिएको कुरा गर्थिन् । हरिले सम्झाउँथ्यो, ‘आमा नआत्तिकन बस्नू । हाम्रो उडान एकदम पर्फेक्ट छ । पाइलट, इन्जिनियर एकदम असल छन् । मलाई केही हुँदैन ।’

आमाले पाँच मिनेटको वार्तामा केवल लामो सुस्केरा हालेर बिताउँथिन् र अन्तिममा भन्थिन्, ‘छोरा ! आबो तेरो रहर मेटिहालिस् । फेरि चाहिँ यसो नगर है ! मेरो मुटु चुँडिनु आँटिसक्यो । आबो सहनु सक्दिना ।’ हरिले हाँसेर आमाको वचनलाई स्वीकाथ्र्यो ।

सन्तानको वेलगाम सपनामा बाआमाको मन अल्झेर कस्तरी लछारिदै पिछा लागेको हुन्छ भन्नेकुरा हरिले कति बुझ्थ्यो कुन्नि ? ऊ सपनाको पछि पागल भएर दौडिरहँदा सबै भुलिदिन्थ्यो । भन्छन्, ‘सफलताको लागि मूर्खता जरुरी हुन्छ’ हरि हदभन्दा बढी सफलताका लागि मूर्ख थियो ।

हिमालशोभालाई छोराको मूख्र्याइँदेखि आजित भएर भक्कानो छुट्थ्यो । तर कसले सुनाइदिएको हो कुन्नि, ‘आमा रोएमा त्यो आँसुले सन्तानको बाटो छेक्छ’ भन्ने कुरा । त्यसैले हिमालशोभा झर्न लागेको आँसुलाई तत्काल रोकेर मुख धुने गर्थिन् । सन्तानको मनलाई रोक्न नसक्ने आफ्नै मायाको पर्खालसँग धिक्कार मान्थिन् ।

हरिको टिमले अन्तरिक्षको यात्रा गरेको १२ दिन बितिसकेको थियो । नासाका वैज्ञानिकहरूले यात्रा सुरक्षित रहने बारम्बर बताइरहेका थिए ।

कान्छीलाई नेपालबाट फोन आयो र हतासिएको आवाजमा भन्यो,– ‘आमा बाथरुममा लड्नुभो । अहिले मेडिसिटी हस्पिटलको आइसियूमा हुनुहुन्छ । छोरा खोजिरहनु भएको छ ।’

कान्छीको धड्कन बन्द होलाजस्तो भयो । खलखली पसिना आयो । नासाको काउन्टरमा फोन गरेर जानकारी दिई । एक घण्टापछि कान्छीलाई सुझाव आयो, एस्ट्रोनट् (अन्तरिक्ष यात्री) लाई मानसिक तनाव दिन नहुने भएकाले उसको अवतरणसम्म कुनै हालतमा पनि कुर्नुपर्ने भयो । कान्छीले सोही कुरा नेपालमा जानकारी दिई । तर, त्यसपछि कान्छीले हरिसँग संवाद गर्न सकिन । बरु आफ्नी आमा विरामी भएर नेपाल गएको कुरा काउन्टरमा बताएर ऊ हरिको आमालाई भेट्न नेपाल गई । हिमालशोभा अक्सिजनको मास्कभित्र ‘छोरा ! छोरा !’ भनिरहेकी थिईन् सायद । उनका ओंठहरू घरिघरि नराम्रो पाराले चल्बलाउँथ्यो ।

कान्छीले बुझ्दा थाहा भयो, हिजो राति ट्वाइलेट जाँदा चिप्लेर लडेको रहेछ । टाउको मार्वलको भुईंमा बजारिएछ । सहयोगीहरूले थाहा पाउँदा तीन/चार घण्टा बितिसकेको रहेछ । त्यसपछि एम्बुलेन्स बोलाउँदा, तयार पर्दा यसै ढिला भएछ । त्यसमाथि सुगर हाइ भएर तुरुन्त अपरेशन गर्न नमिलेको, विरामी बेहोस् भएकाले सुगर घटाउने औषधिले पनि राम्रोसँग काम नगरेको …आदि इत्यादि । झन् विरामीलाई भेन्टिलेटरतिर सार्नुपर्ने डाक्टरको सल्लाह आयो ।

कान्छीले हरिलाई इमेल लेख्न अनेक आँट गरी । औंलाहरु थरर्र काँपे । पसिनाले निथ्रुक्क रुझी तर आमाको अवस्थाबारे बताउन सकिन । हरिले कान्छीको आमाको स्वास्थ्यलाभको कामना गरेको रहेछ । कान्छीलाई नआतिन भनेको रहेछ । केही परे मेरो आमासँग सहयोग लिनु भनेको रहेछ । कान्छी वेदना रोक्न नसकेर बाथरुम छिरेर बेस्कन रोई । अनि रिप्लाई लेखी, हरि, आइ एम लुजर । आइ कान्ट फेस दिस सिचुएशन । म भागें । सक्छौ भने कुनै दिन मलाई माफ गरिदेऊ । रियल्ली, आइ लभ यु ब्याड्ली, डिप्ली एण्ड म्याड्ली ।’ तर, उसले इमेल सेण्ड गर्न सकिन र वाक्य ड्राफ्टमै रह्यो ।

सोह्रौं दिनको दिन हरि सवार स्पेश क्राफ्ट पृथ्वीमा अवतरण हुने दिन थियो । त्यहाँ नेपाली हुनुको नाताले हजारौं नेपाली पनि हरिको आगमनको स्वागतमा जम्मा भएका थिए । तर त्यहाँ हरिलाई कुर्ने कान्छी थिईन । आमाले त झन् विनायान अन्तरिक्षको यात्रा तय गरिसकेकी थिईन् । स्पेस फराकिलो हुनुको परिणाम यही भयो कि ! आमाछोरा एउटै स्पेशमा भएर पनि भेट भएन । स्पेशको विशेषता नै अनभिज्ञता रहेछ । जहाँ अनगिन्ती आत्माहरु एक आपसमा नभेटी बिलाइजाने रहेछन् ।

सँगै अवतरण भएका सदस्यको गलाभरि आफन्त थिए । हरि सिर्पm रित्तो थियो । ऊ आमासँग बेस्सरी रिसायो । सबैका आमा अमेरिका बस्दा आफ्नै आमालाई अमेरिका मन नपर्नुसँग बेस्कन झोंक चल्यो । बग्दै गरेको आँसुलाई आँखा तछारिनेगरी पुछिफाल्यो ।

अब, दुईहप्तासम्म विना ग्राभिटी बाँचेको शरीरलाई ग्राभिटिमा बाँच्ने, बानी पार्नु अर्को दुई हप्ता लाग्थ्यो । सिधा उभिन मेरुदण्डले राम्रो मानेको थिएन । गोडाहरू लुला भएका थिए । खानेकुरा तातो खानु परको थियो । चौबीसै घण्टा डाक्टरको निगरानीमा बस्नुपर्ने स्थितिलाई छोट्याएर एक हप्ता पुगेपछि हरिलाई आमाको अवस्था बताइयो र सकेसम्म छिटो भेट्न जाने सल्लाह दिइयो । यो सब सुनेर हरि झण्डै त्यही ढल्यो । उसको आफन्त खोजियो, कोही रहेनछ नजिकका । नजिक भन्नाले आफ्ना सारा समस्या छाडेर कोही अरुको लागि हिड्न तयार हुन्नन् भने ती नजिकका मानिन्नन् । ‘हरि वी लभ यू’ भन्ने हजारांै नेपाली भएपनि नेपालसम्म साथ दिने कोही भएनन्, या खोज्न सकिएन । आँधो भएर सपनाको पछि दौडनेसँग साथी पनि कहाँ हुँदोरहेछ र ? हरि कति एक्लो रहेछ भन्ने त्यही बेला थाहा भयो । अन्ततः एकजना मेडिकल स्टाफ नेपालीलाई नै फि तिरेर नेपालसम्म र अरु एक हप्तासम्म हरिको निगरानी गर्ने व्यक्तिको साथ हरि नेपाल गयो । हिमालशोभालाई आइसमा राखिएको रहेछ । बक्स खोलेर छोरालाई अनुहार देखाइयो । छेउमा कान्छी उभिएकी थिई । हरिले एक झापट हानेर कान्छीलाई उडाइदियो, अनि खल्तीबाट पासपोर्ट झिकेर ध्वारर्र च्यात्यो । त्यसपछि ढङ्ग्रङ्ग ढल्यो ।

समय बगेको खोला त रहेछ । जतिसुकै दुःख होस् या सुख, बितेर गैहाल्छ । उज्यालो प्रकाश दिनलाई सूर्य छदैथ्यो, त्यसमाथि बिजुली पनि थियो । त्यतिले पनि नपुगेर सोलार रिडको ओरिजिन अध्ययन गरेर प्रकाश खोज्न आकाशमा जाने हरिको जीवनमा सधै अँध्यारो छाडेर आमा अस्ताइन् । अन्तरिक्षमै आमाछोराको यात्रा क्रस भयो ।

यतिबेला बालुवाटार प्रधानमन्त्री निवासको तीन नम्बर गेटकै अगाडि हरिको तरकारी पसल छ । कान्छी काउन्टरमा बस्छे । हरि पसल हेर्छ । बटुवाहरु कुरा गर्छन्, ‘मान्छेले आकाश छोइसकेपछि फेरि उसको रहर भुईंमै पलाउँदो रहेछ ।’