राजस्वले प्रहरीलाई दियो सुन प्रकरण अनुसन्धानको जिम्मा

राजस्वले प्रहरीलाई दियो सुन प्रकरण अनुसन्धानको जिम्मा



काठमाडौं । राजस्व अनुसन्धान विभागले करिब १ सय किलो सुनबारे अनुसन्धानकाे जिम्मेवारी नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । आइतबार विभागका महानिर्देशक नवराज अधिकारीले सुन प्रकरणमा अहिलेसम्म भेटिएका तथ्य र हालसम्म बरामद प्रमाण सहित प्रहरीलाई जिम्मा लगाउने निर्णय भएको जानकारी दिएका छन् । अब यो प्रकरणकाे अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अघि बढाउने छ ।

महानिर्देशक ढुंगानाले भने– ‘संगठित अपराध अन्तर्गत अनुसन्धकान गर्ने र यसको सवै काम नेपाल प्रहरीबाट हुनेगरी बाँकी काम प्रहरीलाई यसका सम्पूर्ण तथ्य, हालसम्म बरामद प्रमाण समेत प्रहरीलाई पठाउने निर्णय गरेका छौं ।’ साउन ३ बाट राजस्वले यसबारे अनुसन्धान गरिरहेको थियाे ।

विभागका मात्र अनुसन्धान फितलो हुनसक्ने भन्दै कुरा उठेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रहरी र राजस्वका उच्च अधिकारीहरुसँग बैठक गरी थप अनुसन्धान प्रहरीबाट अघि बढाउन गत बिहीबार निर्देशन दिएका थिए । प्रधानमन्त्रीले गत साता निर्देशन दिएपछि विभागले आइतबार सम्पूर्ण फाइलहरु बुझाएको हो ।

सुन तस्करी प्रकरणको अनुसन्धान राजस्व र भन्सार छलीमा मात्रै गर्दा जरोसम्म पुग्न नसकिने निष्कर्षसहित सरकारले संगठित अपराध, अन्तर्देशीय अपराध र आतंकवादसँग पनि जोडेर अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको हो ।

अब प्रहरीले विशेष ब्युरो, साइबर ब्युरो र अन्य युनिटका विशेष टोलीलाई पनि अनुसन्धानमा खटाइने तयारी गरेको छ ।

यो प्रकरणमा विमानस्थल भन्सारका तीन कर्मचारी, बेल्जियन, भारतीय र चिनियाँ गरी तीन विदेशी नागरिकसहित १८ जना पक्राउ परिसकेका छन् ।