काठमाडौं । महिला विश्वकप फुटबलको अन्तिम प्रि–क्वाटरफाइनल खेलमा मोरक्को फ्रान्ससँग ४–० ले पराजित भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ ।
दुई क्वाटरफाइनल न्यूजिल्यान्डमा हुनेछ भने दुईवटा अस्ट्रेलियामा हुनेछ । स्पेन र नेदरल्यान्ड वालिङटनमा भिड्दा अकल्यान्डमा जापान र स्वीडेनले शुक्रबार खेल्ने छन् । यता अब फ्रान्सले शनिबार आयोजक अस्ट्रेलियासँग ब्रिसवनमा क्वाटरफाइनल खेल्दा सिड्नीमा इग्ल्यान्डले कोलम्बियाको सामना गर्नेछ ।
पहिलो हाफमै ३ गोल खाएको मोरक्कोले फ्रान्सका खेलाडीलाई रोक्न सकेन । फ्रान्सका लागि उगिनी लि सोमरले दुई गोल गरिन् । उनले खेलको २३ औं र ७० औं मिनेटमा गोल गरेकी हुन् । खेलको १५ औं मिनेटमा कादिदितौ दाइनीले गोलको खाता खोलेकी थिइन् । त्यसको ५ मिनेटपछि अर्थात् खेलको २० औं मिनेटमा केन्जा दालीले दोस्रो गोल गरिन् ।
पराजित मोरक्कोले पनि गोल गर्ने अवसर प्रशस्त पाएको थियो । तर फ्रान्सेली रक्षकहरुले मोरक्का खेलाडीको रणनीतिलाई असफल बनाइ दिएका थिए । मोरक्को कमजोर रक्षापंक्तिको फाइदा फ्रान्सले उठाएको देखिन्थ्यो ।


प्रतिक्रिया