सुदूरपश्चिमका ७ जिल्लाको यातायात ठप्प

सुदूरपश्चिमका ७ जिल्लाको यातायात ठप्प


ग्लोब नेपाल
297
Shares

डोटी । कैलालीमा अविरल वर्षासँगै आएको पहिरोले अवरुद्ध भएको भीमदत्त राजमार्ग अझै खुलेको छैन । गोदावरी नगरपालिका-४ को बुढितोलामा सोमबार राति आएको पहिरोसँगै करिब दुई सय मिटर भाँसिएपछि अवरुद्ध भएको राजमार्ग सञ्चालन हुन नसकेको हो ।

डिभिजन सडक कार्यालयले पहिरो पन्छ्याउने काम जारी रहेपनि पहिरो आउने क्रम नरोकिएपछि समस्या भएको जनाएको छ । मंगलबार राति सोही ठाउँमा फेरि पहिरो गएको छ । सडक डिभिजन कार्यालयका प्रमुख हरि सुवेदीले चारवटा डोजरको प्रयोग गरेर दुवैतर्फबाट पहिरो पन्छ्याउने काम भइरहेको बताए ।

सुवेदीले सडक भासिएकै क्षेत्रमा मंगलबार राति पनि पहिरो गएको बताउँदै बुधबार बिहानैदेखि पुनः पहिरो पन्छयाउन थालिएको जानकारी दिए । उनले बुधबार साँझसम्म एकतर्फी भएपनि सडक सञ्चालन गर्ने प्रयास भइरहेको बताए । तर वर्षा र पहिरो खस्ने क्रम नरोकिएमा भने केही समस्या हुने बताइएको छ ।

सोमबार राति गएको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ । यसैबीच मंगलबार सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पहिरो गएको राजमार्गको स्थलगत निरीक्षण गरेका थिए । शाहले निरीक्षण गर्दै पहिरो पन्छ्याएर राजमार्ग चाँडोभन्दा चाँडो खुलाउन निर्देशन दिए ।

त्यसअघि मंगलबार नै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलसहितका जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरूले पनि राजमार्गको निरीक्षण गरेका थिए ।