कुनैपनि राज्य धर्म र जात विशेष हुँदैन : केपी ओली

कुनैपनि राज्य धर्म र जात विशेष हुँदैन : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनैपनि राज्य धर्म र जात विशेष नहुने बताएका छन् ।

बिहीबार २९ औं विश्व आदिवासी दिवसका अवसरमा लोकतान्त्रिक आदिवासी जनजाति महासंघले च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले कतिपयले जातका आधारमा सेन्टिमेन्टल बनाएर र भावनामा बगाएर नेपालीहरुबीच द्वन्द्व र फाटो ल्याउने प्रयास भइरहेको बताए ।

उनले जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने देशेको अस्तित्व समाप्त हुने बताएका छन् ।

‘हामीलाई जातजाति केहीका नाममा सेन्टिमेन्टल बनाएर, भावनामा बगाएर कसैले हामीबीच विद्वेष, घृणा र फाटो ल्याउन सफल भयो भने हाम्रो देशको अस्तित्व समाप्त हुन्छ । त्यतिबेला हाम्रो देश जोगिँदैन । जोगाउन सकिँदैन,’ उनले भने ।

पहिचान देशको हितका लागि हुनुपर्ने भन्दै उनले पहिचानको मुद्दा विभेद, विद्वेषका लागि नभएर मित्रता बढाउनका लागि भएको बताए ।

उनले विविधतामा समानता आवश्यक रहेको भन्दै एउटै देशका जनतामा कोही धनी हुने कोही खान लाउननै नपुग्ने स्थिति हुन नहुने पनि बताए ।