सुन तस्करीमा मुछिएका पूर्वआईजीपी सिंह धुम्बराही वरपर

सुन तस्करीमा मुछिएका पूर्वआईजीपी सिंह धुम्बराही वरपर


ग्लोब नेपाल
621
Shares

काठमाडौं । सुन तस्करीमा मुछिएका पूर्व प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह संरक्षणको खोजीमा राजनीतिक दलका नेताको दैलो चाहर्न हिजोआज व्यस्त रहेको बुझिएको छ । उनी सय किलो र ९ किलो सुन तस्करीमा प्रत्यक्ष मुछिएको प्रमाण राजश्व अनुसन्धान विभागसँग सुरक्षित छ ।

एक सय क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका दावा छिरिङलाई राजस्व अनुसन्धान विभागको टोलीले काठमाडौंको ठमेलबाट प्रक्राउ गरेको थियो । अभियुक्त छिरिङ पक्राउ परेपछि पूर्वप्रहरी महानिरीक्षकद्वय सिंह र सर्वेन्द्र खनालको संलग्नताको पोल खुलेको हो । खनाल साउन ६ गते नै अमेरिका भागिसकेका छन् भने सिंह राजनीतिक संरक्षणका लागि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा समक्ष गुहार माग्न पुगेको बुझिएको छ ।

राजस्व विभागको टोलीले छिरिङलाई पक्राउ गरेपछि धेरै विषय खुलेको हो । छिरिङको प्रहरीका पूर्व आईजीपी सिंहसहित उच्च अधिकारीहरुसँग सम्पर्क रहेको खुलेको छ । सिंह आईजीपी हुँदा पनि छिरिङसँग उनको फोन र मेसेज आदान प्रदान भएको प्रमाण राजश्व अनुसन्धान विभागले फेला पारेको छ । जसमा सिंहले ‘भाइ फोन किन नउठाएको भन्दै’ बारम्वार दावालाई एसएमएस पठाएका थिए । सिंह आईजीपीबाट हटेलगत्तै छिरिङले उनको नम्बर ब्लक गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरु तस्करहरुसँग किन सम्पर्कमा बसे त्यो त थप अनुसन्धानपछि मात्र खुल्ने छ । राजश्व अनुसन्धान विभागबाट सिआईबीमा पुगेको एक क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएका पूर्व आईजीपीद्वयलाई प्रहरीले बयानमा बोलाउँछ कि बोलाउँदैन त्यो हेर्न भने केही दिन पर्खिनुपर्ने हुन्छ ।

अनुसन्धान टोलीले छुन नसक्ने संरक्षण खोजिरहेका सिंह शक्तिकेन्द्रको ढोका ढक्ढकाउन पुगेका छन् । मोटो रकम बुझाएर आफुभन्दा डेढ वर्ष सिनियर एआइजीलाई पाखा लगाएर आइजीपी बनेका सिंह प्रहरीलाई खरिद गरेको म्याट्रेस, जुत्ता, प्रहरी अस्पतालको सामाग्री खरिददेखि सुन तस्करीसम्मको विभिन्न काण्डमा मुछिएका छन् ।

सिंहले आइजीपी हुन बुझाएको रकम असुल उपर गर्न नभ्याएपछि आइजीपीको कार्यकाल थप्ने योजनामा समेत लागेका थिए । त्यो पनि असफल भएपछि अहिले संवैधानिक नियुक्ति खाने चाँझोपाँझो मिलाउन देउवा पत्नी आरजुसँग हारगुहार गरिरहेको एक उच्च प्रहरी अधिकृतले जानकारी दिएका छन् ।