लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टोवरमा हुने ११ औं महाधिवेसनका प्रतिनिधि दर्ता सुरु भएको छ ।
गैरआवासीय नेपाली संघका अनुसार पहिलो चरणमा अगष्ट २६ तारिखसम्म संघका पूर्व पदाधिकारीहरुले ‘स्मार्ट एनआरएनए’ एपमार्फत आफ्नो प्रतिनिधि दावी गर्न पाउने छन् । बाँकी १० प्रतिशत प्रतिनिधि संघको विधान अनुरुप संघको राष्ट्रिय समितिको कार्यसमितिको सिफारिशमा अगष्ट ३० तारिखसम्म केन्द्रमा पठाउनु पर्नेछ ।
गैरआवासीय नेपाली संघको एघारौँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज ३० गतदेखि कार्तिक ३ गतेसम्म (१७ अक्टोबर –२० अक्टोबर, २०२३) काठमाडौँमा आयोजना गरिने भएको छ । सम्मेलनको तयारीको लागि जुलाइ १ देखि ३१ का बीचमा विश्वका ५९ भन्दा राष्ट्रमा राष्ट्रिय समन्वय परिषद्का निर्वाचन सम्पन्न भएका छन् । विश्वभरबाट ९६ हजार ८ सय ५० पन्जिकृत सदस्य संघमा आबद्ध भएका छन् ।
संघको केन्द्रीय नेतृत्वको लागि अक्टोवर तेस्रो साता निर्वाचन हुँदैछ । अध्यक्ष पदको लागि महेश श्रेष्ठ, डा. बद्री केसी, डा. हेमराज शर्मा, रविना थापा र आरके शर्माले उम्मेदवारी घोषणा गरिसकेका छन् ।
एनआरएनएले जारी गरेको विज्ञप्ति जस्ताको त्यस्तै
सम्पूर्ण पंजीकृत सदस्यहरुमा
गैरआवासीय नेपाली संघको विधान २०२२ को दफा २४.१ मा ३१ जुलाई भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्ने र विधानको दफा १३.७ मा उल्लेखित अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिहरुको तोकिएको विवरण ३१ अगष्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषदको सचिवालयमा पेश गर्नुपर्ने छ भन्ने प्रावधान रहेको यहाँहरुलाई जानकारी भएकै विषय हो ।
यसै सन्दर्भमा मिति ६ अगष्ट २०२३ का दिन सम्पन्न भएको आइएसको १८ औं बैठकले महाधिवेशन प्रतिनिधिहरुको लागि मिति २०२३ को १० अगष्ट देखी २५ अगष्ट सम्म मात्र Smart NRNA App मार्फत नाम दर्ता खुला गर्ने निर्णय गरे अनुसार सो समय भित्र आफ्नो दर्ता गर्न हुन अनुरोध गर्दछौ ।
साथै महाधिवेशन प्रतिनिधिहरुको नाम दर्ता गैरआवासीय नेपाली संघको संशोधित विधान २०२२ को दफा १३.७, अनुसूची ६ र ६ क र अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि ब्यवस्थानपन नियमावलीमा व्यवस्था भए बमोजिम हुने पनि यहाँहरु सबैमा जानकारी गराउँदछौ । संघको विधान र अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि ब्यवस्थानपन नियमावली यसै साथ संलग्न गरिएको छ ।
देहायका प्रतिनिधिहरुले प्रतिनिधि फारम भर्नु नपर्ने जानकारी गराउँदछौ । उहाँहरुको नाम स्वतः प्रतिनिधिको सूचिमा समावेश हुनेछ ।
१. बहालबाला आइसिसिका पदाधिकारी र सदस्यहरु
२. बहालबाला संरक्षकहरु
३. बहालबाला सल्लाहकारहरु
४. बाहालबाला संरक्षक परिषद्का सदस्यहरु
५. ०२३-२५ का लागि नवनिर्वाचित आइसिसि सदस्यहरु
६. नव वर्तमान राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरु
७. निवर्तमान राष्ट्रिय समन्वय परिषदका सदस्यहरु
प्रतिक्रिया