संखुवासभा । संखुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरी पक्राउ परेका छन् ।
प्रहरी सहायक निरीक्षक चौधरीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी साहयक निरिक्षक चौधरीलाई पक्राउ गरी जिल्ला अदालत संखुवासभाबाट ५ दिन हिरासतमा राख्ने अनुमति लिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सुचना अधिकारी प्रहरी निरीक्षक सरोज खनालले जानकारी दिए ।
कैदी मृत्यु प्रकरणमा मुछिएका कारागार सुरक्षा इन्चार्ज (असई) चौधरीलाई आइतबार ५ दिन म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरी निरीक्षक खनालले बताए ।
पीडितले दिएको किटानी जाहेरीका आधारमा सहायक निरीक्षक चौधरीसहित कारागार निमित्त प्रमुख राजेन्द्र घिमिरेविरुद्ध जिल्ला अदालत संखुवासभाले पक्राउ अनुमति जारी गरेको थियो ।
कुटपिटबाट संखुवासभा मादी नगरपालिका –५ का २० बर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको बुधबार बिहान मृत्यु भएको थियो ।
शनिबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा कारागार निमित्त प्रमुख (जेलर) राजेन्द्र घिमिरे र असई लक्ष्मी चौधरीविरूद्ध जाहेरी परेको थियो । उक्त जाहेरी परेपछि प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरे र चौधरी विरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन । यस घटनामा अन्य व्यक्तिहरूको पनि संलग्नताबारे अनुसन्धान गरिरहेको कार्यालयले जनाएको छ ।
पक्राउ परेका चौधरीमाथि अनुसन्धान भइरहेको छ । पक्राउ पुर्जी जारी भएका कारागारका निमित्त प्रमुख घिमिरेलाई पक्राउ गरेर अनुसन्धान बढाइने प्रहरीले जनाएको छ ।
कुटपिटबाट मृत्यु भएको कैदी संखुवासभाको मादी –५ का तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का बलामीका आफन्तले ६ दिनपछि शव बुझेका छन् ।
किटानी जाहेरीपछि शनिबार शवको पोस्टमार्टम गरिएको थियो । प्रहरीले घटनामा संलग्नको भएको आरोप लागेका कारागारका निमित्त प्रमुख घिमिरे र असई चौधरीको नाम सार्वजनिक गरेपछि आज आफन्तले शव बुझेका हुन् ।
प्रतिक्रिया