धमला पत्नी एलिजा एमालेमा !

धमला पत्नी एलिजा एमालेमा !



काठमाडौं । नागरिक उन्मुक्ति पार्टी त्यागेर राजनीतिबाट सन्यास लिएको घोषणा गरेकी सञ्चारकर्मी ऋषि धमला पत्नी तथा चलचित्र अभिनेत्री एलिजा गौतम एमालेको शरणमा पुगेकी छन् । पार्टी प्रवेश औपचारिक रुपमा नभए पनि उनले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । अध्यक्ष ओलीसँगको भेटसँगै एलिजाले एमालेबाट राजनीतिक यात्रा पुनः सुरु गर्ने अड्कल गर्न थालिएको छ ।

हिजो आइतबार एलिजाले अध्यक्ष ओलीसँग भेट गरेर तस्बिर सामाजिक सञ्जालमा राखेकी थिइन् । जुन तस्बिरको चर्चा व्यापक मात्र भएन विभिन्न प्रतिक्रियासमेत आएका थिए । उनले लेखेकी छन्– ‘नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बुवासँग बालकोटमा विशेष भेटवार्ता । भेटमा बुवाले दर्शाउनु भएको सद्भाव, माया, आर्शिवाद, प्रेरणा, ऊर्जा र मार्गनिर्देशनप्रति अनुगृहित छु । बुवाको राजनीतिक अनुभव, चेतना र आत्मविश्वास मेरा लागि अनुकरणीय छ ।’

उनको तस्बिरमा आएका कमेन्ट भने एमालेलाई ब्याङ्ग्य गरिएको छ । प्रतिक्रिया दिदै रिता सापकोटाले लेख्छिन्, ‘एमालेले सदन र सडकमा आगो बाल्ने भो ! सुन काण्ड पनि छायाँमा पर्ने एउटो गतिलो इस्यु आएछ ।’ यस्तै एन ढकाल लेख्छन्– अब चाहिँ तुक्के पार्टीले पारा ल्याउला जस्तो छ । यी डगी डान्सर पार्टीमा आइन् भने डगी डान्स सो गरेर ०८४ को चुनावमा बामालेको २ तिहाई पक्का ।