गालिएको तस्करीको सुन ६० केजी मात्रै

गालिएको तस्करीको सुन ६० केजी मात्रै


ग्लोब नेपाल
162
Shares

काठमाडौँ । तस्करी गरेर ल्याइएको सुन मोटरसाइकलको ‘ब्रेक सु’ मा छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम मात्रै भएको हो ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन जोखिएको थियो । आज बिहान साढे १० बजेबाट सुन गालिएको थियो । छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्नको लागि जोखिएको टक्सार महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार ब्रेक सुबाट सुन छुट्याएर गालेपछि ६० केजी भएको थियो । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान थियो । त्यसैअनुसार सुन घटेको हो । अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने छ।

भन्सार जाँचपास भएर सिनामंगलको रोडमा निकालिएको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुनसहितको ब्रेक सु १५५ किलो बरामद गरिएको सार्वजनिक गरिएको थियो । सुन तस्करी प्रकरणको अनुसन्धानको जिम्मा राजस्व अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई सुम्पिएको छ ।

थप तीन चिनियाँ नागरिक पक्राउ, ३० लाख रुपैयाँ बरामद
सुन तस्करी प्रकरणमा थप तीनजना चिनियाँ नागरिक पक्राउ परेका छन् । २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँचपास भएर बाहिरिएको सुन तस्करी प्रकरणमा मंगलबार पक्राउ परेका थप तीनजनाको साथबाट ३० लाख रुपैयाँ पनि बरामद गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ । २ साउनमा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको सुनको पगाल्ने काम मंगलबार सकिएको छ ।