चीन-दक्षिण एसिया एक्स्पो मेलामा नेपाल ‘थिम’ मुलुक

चीन-दक्षिण एसिया एक्स्पो मेलामा नेपाल ‘थिम’ मुलुक



काठमाडौँ । ‘साझा विकासका लागि एकता र समन्वय’ भन्ने नाराको साथ सातौँ संस्करणको चीन-दक्षिण एसिया एक्स्पो तथा २७औं खुनमिङ आयात-नियात मेलामा नेपालसँगै दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली देशहरू सहभागी बनेको छन् ।

याे मेला चिनकाे युनान प्रान्तको खुनमिङमा बुधबारदेखि सुरु भएको छ । जसमा नेपाल ‘थिम’ अर्थात् शीर्षक मुलुक बनेको छ ।

उद्घाटन समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, परराष्ट्रसचिव भरतराज पौड्याल र वाणिज्य सचिव मधु मरासिनी लगायतकाे उपस्थिति थियाे ।

समारोहमा उपराष्ट्रपति यादवले द्विपक्षीय आर्थिक सहयोगलाई अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए । उनले नेपालको व्यापार, पर्यटन, पूर्वाधार, कनेक्टिभिटी र जलविद्युत् क्षेत्रमा लगानी गर्न चिनियाँ व्यवसायीलाई आग्रह गरे । साथै, नेपाल र चीनका निजी उद्यमीहरूबीचको आर्थिक साझेदारीलाई प्रगाढ बनाउन थप बीटुबी अन्तरक्रिया हुने गरी मञ्च भ्रमण गर्न चिनियाँ व्यवसायीलाई निमन्त्रणा गरे ।

पाँच दिने कार्यक्रममा बायोमेडिसिन र हेल्थकेयर प्याभिलियन, रिसोर्स इकोनोमी प्याभिलियन, र क्षेत्रीय सहयोग प्याभिलियन सहित १५ प्रदर्शनी हलहरू स्थापना गरिएको थियो । कूल १५०,००० वर्ग मिटर क्षेत्रफल भएको एक्स्पोले अनलाइन र अफलाइन दुवैतर्फ ३०,००० प्रदर्शकहरूलाई आकर्षित गरेको छ।

विगतका वर्षहरूमा, यो चीन, दक्षिण एसिया र दक्षिणपूर्वी एसियाली देशहरू बीचको आर्थिक र व्यापारिक सहयोगलाई बढावा दिने एउटा महत्त्वपूर्ण प्लेटफर्मको रूपमा विकसित भएको छ।