दक्षिण एसिया र चीन बिच समृद्धि पुलको रूपमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्छ: अध्यक्ष ढकाल

दक्षिण एसिया र चीन बिच समृद्धि पुलको रूपमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्छ: अध्यक्ष ढकाल



कुनमिङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले चीन र दक्षिण एसियाबिचको पुलको रूपमा रहेकाले यो क्षेत्रको समृद्धिमा नेपालले महत्त्वपूर्ण भूमिका निभाउन सक्ने बताएका छन् ।

चीन साउथ एसिया बिजनेस फोरमको तर्फबाट युनान प्रान्तको कुनमिङमा आयोजित चाइना (युनान) नेपाल इन्डस्ट्रियल को-अपरेसन प्रमोसन एण्ड इन्टरप्राइजेज म्याचमेकिंग मञ्चमा सम्बोधन गर्दै अध्यक्ष ढकालले चीन र दक्षिण एसियाली क्षेत्र बिच बृहत्तर सहयोगका लागि थप सहकार्य तथा साझेदारी सुदृढ गर्नु पर्ने बताए ।

सम्बोधनमा अध्यक्ष ढकालले विश्व परिदृश्यमा देखिएका जटिलतालाई सामना गर्दै अघि बढ्न क्षेत्रीय तथा उपक्षेत्रीय अन्तर निर्भरतालाई थप बलियो बनाउनु पर्ने पनि उल्लेख गर्नुका साथै साझा आर्थिक लाभ र आपसी लगानी वृद्धिमा आधारित सहकार्यले मात्र अहिलेका चुनौतीहरूलाई समाधान गर्न सकिनेमा अध्यक्ष ढकालले जोड दिए ।

अध्यक्ष ढकालले लगानीका लागि नयाँ क्षेत्र पहिचान गर्ने, पर्यटन प्रवर्द्धन, आपसी व्यापार अभिवृद्धि र औद्योगिक साझेदारीलाई थप सुदृढीकरणका लागि समेत आह्वान गरेका थिए । विश्व अर्थतन्त्रमा देखिएका अनिश्चितताहरू कम गर्न, द्वन्द्व र जलवायु परिवर्तनले सृजना गरेको महामारी र आपूर्ति शृङ्खलामा देखा परेका अवरोधहरूबाट जोगाउन सक्ने बलियो रणनीति तयार गर्न आपसी सहकार्य बढाउनु पर्ने पनि अध्यक्ष ढकालले बताए ।

दक्षिण एसियाली क्षेत्रमा बजारको पर्याप्त सम्भावना रहे पनि कमजोर यातायात तथा आपूर्ति पूर्वाधार र व्यापार सहजीकरण नहुँदा आर्थिक वृद्धि प्रभावित भएको अध्यक्ष ढकालको भनाइ थियो । दक्षिण एसियाको जनसाङ्ख्यिक लाभांश उपयोग गर्ने तथा प्रचुर प्राकृतिक स्रोतको उपयोग गर्न पनि चीन र दक्षिण एसियाली क्षेत्रले ढिलाइ गर्न नहुने अध्यक्ष ढकालको धारणा थियो । डिजिटल अर्थतन्त्रमा एकाकार हुने तथा आपूर्ति र औद्योगिक श्रृखलाहरुको साझेदारी, कृषि, पर्यटन, नवीकरणीय ऊर्जा, खानी, पूर्वाधार, आइसिटी, जडीबुटी र औषधि उत्पादन लगायतका महत्त्वपूर्ण क्षेत्रहरूमा चीनको विशेषज्ञतालाई प्रविधि र लगानीको हस्तान्तरणबाट नेपाल सहित दक्षिण एसियाले लाभ लिन सक्ने अध्यक्ष ढकालले उल्लेख गरेका थिए ।

सम्बोधनमा अध्यक्ष ढकालले चीन(दक्षिण एसिया व्यापार मञ्चले चीन, दक्षिण एसिया र नेपालबिचको आर्थिक सम्बन्धलाई प्रगाढ बनाउन, व्यवसायीक संस्था र सरकारी निकायहरूबिचको सम्बन्ध प्रगाढ बनाउन गतिशील माध्यमको रूपमा काम गर्ने विश्वास समेत व्यक्त गरे ।