रेमिट्यान्स: २१.२ प्रतिशतले वृद्धि, एक वर्षमा १२ खर्ब २० अर्ब भित्रियो

रेमिट्यान्स: २१.२ प्रतिशतले वृद्धि, एक वर्षमा १२ खर्ब २० अर्ब भित्रियो



काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.२ प्रतिशतले वृद्धि भएको जनाएको छ ।शुक्रबार विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ भित्रिएको जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

गत आर्थिक वर्षमा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ४ लाख ९७ हजार ७०४ र पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ७७ हजार २७२ रहेको थियो । नयाँ श्रम स्वीकृति लिनेको संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४०.३ प्रतिशत धेरै हो ।