कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने

कोशीका मुख्यमन्त्री थापाले भदौ ४ गते विश्वासको मत लिने



विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिन आज शुक्रबार संसद सचिवालयमा निवेदन दिएका थिए । सभामुखको भूमिकामा रहेकी उपसभामुख सिर्जना दनुवारले ४ गतेको समय दिएको मुख्यमन्त्री थापाले जानकारी दिए ।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री उद्दव थापाले धारा १६८ को उपधारा (४) बमोजिम कोशी प्रदेश सभाबाट बिश्वासको मत चाहेकोले मिति २०८०–०५–०३ गतेको कार्यसूचीमा समावेश गर्ने गरी प्रदेश सभा २०७४ (पहिलो संशोधन सहितको) नियम १२८ को उपनियम (१) र (२) बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रस्ताव सम्बन्धी सूचना दिएको छु,’ थापाले दिएको निवेदनमा उल्लेख छ ।

साउन १६ गते नियुक्त भएका मुख्यमन्त्री थापाले ३० दिन भित्र अर्थात् भदौ १३ गते भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री उद्धव थापाको नेतृत्वमा सरकारलाई कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी पार्टीका ४ र जसपाको एक गरी ४७ सांसदको समर्थन छ । उनको विपक्षमा एमालेका ३९ (उपसभामुख बाहेक) र राप्रपाका ६ जना गरी जम्मा ४५ जना सांसद छन् ।