पासपोर्ट नवीकरणकाे समस्या समाधान गर्न एनआरएनए उपाध्यक्ष शर्माको प्रधानमन्त्री दाहाललाई अनुरोध

पासपोर्ट नवीकरणकाे समस्या समाधान गर्न एनआरएनए उपाध्यक्ष शर्माको प्रधानमन्त्री दाहाललाई अनुरोध



काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष राजेन्द्रकुमार शर्माले विदेशमा बस्ने नेपालीले भोग्दै आएको पासपोर्ट नवीकरणको समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अनुरोध गरेका छन् ।

एनआरएनएको टोलीले प्रधानमन्त्री प्रचण्डसँग भेटेर विश्व सम्मेलनको निमन्त्रणा दिएको थियो । सो भेटमा उपाध्यक्ष शर्माले इराक र कुवेतमा पासपोर्ट नवीकरण लगायत नेपालीहरूले व्यहोर्नुपरेको समस्याको बारेमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

इराक,कुवेत सहित युरोपका केही देशमा बस्ने नेपालीहरूलाई पासपोर्ट नवीकरणमा निकै ठुलो समस्या भएको छ । उपाध्यक्ष शर्माले यसअघि पनि परराष्ट्र मन्त्री सहित उच्च सरकारी अधिकारीसँगको भेटमा पासपोर्ट नवीकरण सहज गराउन माग राखेका थिए ।

“प्रधानमन्त्री ज्यूले पछिल्लो अवस्था मूल्यांकन गरेर कूटनीतिक पहल अगाडि बढाउने प्रतिबद्धता जनाउनु भएको छ,” प्रधानमन्त्रीसँग भेटपछि शर्माले भने,“प्रधानमन्त्रीसँग भेटपछि पासपोर्ट नवीकरणको समस्या समाधान हुनेमा हामीहरू आशावादी छौँ।”

इराक,कुवेत तथा युरोपका देशहरूमा पासपोर्ट नवीकरण २० हजारभन्दा बढी नेपालीले भोगेको समस्या हो । शर्माले यसअघि सरकारी अधिकारीसँगको भेटमा पासपोर्ट नवीकरणको लागि घुम्ती शिविर सञ्चालन गर्न र यसको सहजीकरण सम्बन्धी देशका एनसीसीहरु तयार रहेको जानकारी गराएका थिए ।

पासपोर्ट नवीकरण गराउन समस्या भएपछि कामको लागि विदेशमा रहेका नेपालीहरूले निकै ठुलो समस्या भोग्नु परेको छ ।