काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठमाथि भोलि संसदीय सुनुवाइ हुने भएको छ । आज बिहान सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले भोलि बिहान साढे ११ बजे श्रेष्ठमाथि संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।
बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार बिहान साढे १० छलफल गर्ने र साढे ११ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल गर्ने निर्णय गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए ।
प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध इमेलबाट दुई वटा र पत्रमार्फत् एउटा उजुरी परेका छन् ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले उमेर हदका कारण गत साउन २० गते अवकाश पाएपछि नयाँ प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको हो ।
संसदीय समितिबाट अनुमोदन भएमा उनले १४ महिना सर्वोच्चको नेतृत्व गर्नेछन् ।
प्रतिक्रिया