कोशी प्रदेश मुख्यमन्त्री थापाले पाउलान् त विश्वासको मत ?

कोशी प्रदेश मुख्यमन्त्री थापाले पाउलान् त विश्वासको मत ?

यी हुन् एमाले र राप्रपाका विरामी विदा लिने ८ सांसद


ग्लोब नेपाल
918
Shares

काठमाडौं । आज कोशी प्रदेशको प्रदेश सभा बैठक बस्दैछ । कोशी प्रदेशको मुख्यमन्त्री उद्धब थापाले विश्वासको मत लिनका लागि सो बैठक बस्न लागेको हो । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

विरामी विदा लिने सांसदहरु
१. रोहितबहादुर कार्की नेकपा एमाले (उमेर ७१)
२. अम्बरबहादुर विष्ट राप्रपा (उमेर ६८)
३. मालती कुमारी लिम्बू नेकपा एमाले (उमेर ६७)
४. रामप्रसाद महतो नेकपा एमाले (उमेर ६७)
५. तारादेवी ढकाल नेकपा एमाले (उमेर ६६)
६. खड्गबहादुर बस्नेत नेकपा एमाले (उमेर ६७)
७. किशोर चन्द दुलाल नेकपा एमाले (उमेर ६५)
८. गोपालबहादुर विश्वकर्मा राप्रपा (उमेर ६५)

तत्कालिन सभामुखलाई राजिनामा दिलाएर पुनः मुख्यमन्त्री नियुक्त भएका थापाले आज विश्वासको मत लिन लागेका छन् । तर, विश्वासको मत लिने बैठकमा सभामुख रिक्त भएपछि सो बैठकको अध्यक्षता उपसभामुख सिर्जना दनुवारले गर्ने भनिए पनि उनले पनि बिरामी बिदा लिएकी छन् ।

सभामुख र उप सभामुखको अनुपस्थितिमा सभा सञ्चालन गर्नका लागि संसद् नियमावली २०७४ को संशोधन सहितको नियम ११ मा अध्यक्ष मण्डल गठनको व्यवस्था छ ।

सोही नियम अनुसार कोशी प्रदेश सभामा नेपाली कांग्रेसका तर्फबाट इस्राइल मन्सुरी,राप्रपाका अम्बरबहादुर विष्ट, एमालेका मालती सुब्बा र माओवादी केन्द्रका गीता तिम्सिना अध्यक्ष मण्डलमा निर्वाचित भएका छन् ।

अध्यक्ष मण्डलमा रहेका राप्रपाका प्रदेशसभा सदस्य अम्बर बहादुर विष्ट र एमालेका मालती कुमारी सुब्बा हिजै घरायसी काम परेको भन्दै बिदामा बसेका छन् । अध्यक्ष मण्डलमा रहेका इस्राइलमन्सुरी गीता भन्दा ज्येष्ठ सदस्य हुन् ।

उनी नेपाली कांग्रेसको तर्फबाट सुनसरी ४(२) बाट निर्वाचित भएका हुन् । उपसभामुख बिदामा बसेको बेला अव प्रदेश सभा मन्सुरीले सञ्चालन गर्नु पर्ने छ ।

उपसभामुख दनुवारले आफ्नो अनुपस्थिति भएको बेला सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी छन् । उनले आफू बिरामी भएर उपचार गराउन बाहिर जानु पर्न भन्दै नफर्किन्जेलसम्मका लागि सभा सञ्चालनको जिम्मा मन्सुरीलाई दिएकी हुन् ।

नेकपा एमाले र राप्रपाका ८ जना सांसदले ‘बिरामी’ भन्दै बिदा लिएपछि थापा सरकार थप संकटमा परेको छ । मुख्यमन्त्री थापाले १३ गतेसम्म विश्वासको मत नपाएमा स्वतः पदमुक्त हुनेछन् ।

उता, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले भने सरकार टिकाउनका लागि राप्रपाका कोशी प्रदेशका सांसदलाई १० करोडसम्मको अफर गरेको सार्वजनिक गरिरहेको बेला थापा नेतृत्वको सरकार पुनः संकटमा परेको हो । यसअघि सभामुखको समेत मत जोडेर मुख्यमन्त्री नियुक्त भएपछि सर्वोच्च अदालतले उनको नियुक्तीलाई मान्यता दिएको थिएन ।

एमालेले पनि अब उपसभामुखलाई राजीनामा गराउनेछ भन्ने संशय पैदा भइरहँदा एकाएक सरकारले ज्येष्ठ सदस्य गयाननन्द मण्डललाई राज्यमन्त्रीमा नियुक्त गरिएकाे थियाे । यसले एमालेको रणनीतिभन्दा अघि नै सत्ता गठबन्धनले नयाँ पासा फाले पनि विश्वासको मत पाउने वातावरण भने झन् झिनो हुँदै गएको छ । एमाले र सत्ता गठबन्धनका कारण अन्ततः ढिलो भए पनि कोशी प्रदेश मध्यावधि निर्वाचनमा जाने संकेत गरेकाे छ ।