एनआरएन महासचिवमा गङ्गाधर गौतमको उम्मेद्वारी

एनआरएन महासचिवमा गङ्गाधर गौतमको उम्मेद्वारी

महासचिव नै किन ?



बेल्जियम । गैर आवासीय नेपाली संघको आगामी दुई वर्षे कार्यकालका लागि अक्टुबरमा नेतृत्व चयन हुन लागेको कारण नेतृत्वका आकांक्षीहरु चुनावी माहौलमा होमिएका छन्। आफ्नो उम्मेद्वारी घोषणा गर्ने र आम एनआरएन सदस्यका माझ मत माग्ने अभियानमा विभिन्न देशका नेतृत्वका आकांक्षीहरु लागिपरेका छन्। अहिले सबै एनसीसीबाट डेलिगेट बन्नेहरुको विवरण संकलन भैरहेको छ। डेलिगेट (प्रतिनिधि) चयन यही अगष्ट ३१ तारिखभित्र सम्पन्न भैसक्नेछ।

आ-आफ्नो उम्मेद्वारी घोषणा गर्नेमा महासचिव पदमा यसपटक युरोप क्षेत्रबाट गंगाधर गौतमको अहिलेसम्म एक्लो दावी रहेको छ। विगत दुई दशकदेखि बेल्जियमलाई कर्मथलो बनाउँदै आएका बाग्लुङ्ग गल्कोटका गौतमले आफ्नो जन्मदिनको अवसर पारेर आगामी दुई वर्षे कार्यकालका लागि महासचिवको रुपमा जिम्मेवारी बहन गर्न तयार रहेको भन्दै उम्मेद्वारी घोषणा गरेका हुन्।

युरोप क्षेत्रमा एनआरएनका प्रतिनिधिहरुको सबैभन्दा बढी संख्या रहेको छ। यस क्षेत्रमा गौतम सबैका माझ परिचित छन् भने नेपाली जनसम्पर्क समिति र एनआरएनको विभिन्न जिम्मेवारीमा रहेर काम गरिसकेका कारण उनको उम्मेद्वारीलाई सबैले सहयोग गर्ने अपेक्षासमेत गरिएको छ। उम्मेद्वारी घोषणापछि अहिले गौतम युरोपका विभिन्न देशका एनआरएन प्रतिनिधिसँग भेटघाट र छलफलमा जुटेका छन्। केही दिन पहिले मात्र उनी लण्डनमा आयोजित कार्यक्रममा सहभागी भएका छन्।

को हुन् गंगाधर गौतम ?

बाग्लुङ्गमा जन्मिएका गौतम गैर आवासीय नेपालीहरुका माझ परिचित नाम हो। उनलाई नजिकबाट चिन्नेहरू भन्छन्, अत्यन्त प्रष्ट वक्ता र सुम्पिएको जिम्मेवारी पुरा गरेरै छाड्ने मिजासिलो स्वभावका व्यक्ति हुन् उनी। बेल्जियममा सपरिवार बस्दै आएका उनी विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थीसंघमार्फत राजनीतिक गतिविधिमा सक्रिय छन्। नौ कक्षामा अध्ययनरत रहँदा नेविसंघमार्फत सक्रिय हुन थालेका उनी २०५१ मा बाग्लुंगको धवलागिरी क्याम्पसमा स्ववियु सभापति निर्वाचित भए र दुई कार्यकाल काम गरे। यही बीचमा २०५३ देखि २०५७ सम्म दुई पटक नेविसंघ बाग्लुङ्ग जिल्ला सभापति निर्वाचित भएर काम गरे। उनी स्ववियु परिषद्को संस्थापक सदस्य पनि हुन्।

यसरी राजनीतिक गतिविधिमा सक्रिय हुँदै गर्दा २०५७ मा उनी बेल्जियम पुगे र तत्कालीन परिस्थितिमा माओवादी हिंसाका राजनीतिक कारण उनी त्यतै बस्न थाले। बेल्जियम पुगेकै वर्ष सन् २००० मा उनीसहितका कांग्रेसजन मिलेर ‘नेपाली कांग्रेस नेपाल बेल्जियम सम्पर्क समिति’ गठन गरे र उनी संस्थापक महामन्त्री भए। २००६ मा उनी नेपाली जनसम्पर्क समिति, बेल्जियमको महामन्त्री र सन् २००७ मा युरोपभरिका कांग्रेसजनको भेलापछि गठित नेपाली जनसम्पर्क समन्वय समिति, युरोपको महामन्त्रीको रुपमा हालसम्म कार्यरत छन्।

‘उनको पूँजी भनेको नै संगठन हो, संगठनको हितको पक्षमा उनी नेताहरुसँग पनि खरो कुरा राख्न सक्छन्’ युरोप समन्वय समितिका एक सदस्यले गौतमको बारे भने। सन् २००८ मा नेपाली जनसम्पर्क समिति, बेल्जियमको सर्वसम्मत सभापति भएका उनी २०१३ सम्म सभापति रहेर काम गरे। यसबाहेक पार्टीले सुम्पिएका हरेक जिम्मेवारीलाई गौतमले इमान्दारीपूर्वक पुरा गर्दै आएका छन्।

एनआरएनमा गौतम

राजनीतिक गतिविधिसँगै सामाजिक गतिविधिलाई पनि निरन्तर अघि बढाउँदै आएका गौतम हाल एनआरएनको केन्द्रीय सचिव छन्। यसका साथै उनी एनआरएनको विधान समितिको सदस्य सचिव छन्। यसभन्दा पहिले उनी समितिको सह संयोजक थिए। सहमति र एकतालाई सधैं जोड दिने गौतमले पछिल्लो समय एनआरएनमा देखिएको आन्तरिक बेमेलको अवस्थालाई समाधान गर्न तत्कालीन शेष घले समूहका तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

गत दशौँ महाधिवेशनलाई त्रुटीपूर्ण महाधिवेशन भन्दै आइरहेका उनले पहिलो बैठकमा नै एकताको महाधिवेशन हुनुपर्ने प्रस्ताव राखेका थिए। जसलाई अहिले सम्बोधन गरेर सहमति कायम भएको छ। यसबाहेक उनी एनआरएन बेल्जियमको संस्थापक मध्येका एक हुन्। सन् २००६ मा एनआरएन बेल्जियमको उपाध्यक्ष रहेका गौतम २०१५-१७ कार्यकालको लागि त्यहाँको अध्यक्ष निर्वाचित भएका थिए। बेल्जियममा उनी एनआरएनको संरक्षक र सल्लाहकार समेत भएर काम गरेका छन्।

महासचिवमा किन ?

‘तपाईं नै महासचिवमा किन ? अनि केका लागि महासचिव बन्ने ?’ हामीले गौतमलाई सिधा प्रश्न गरेका थियौं। उनले आफ्नो प्रष्ट शैलीमा भने, ‘एनआरएनलाई रुपान्तरण गर्न, यसलाई अभियान मात्र भनिएको छ, तर संस्थागत रुपमा रुपान्तरण गर्न र लोकतान्त्रिक प्रक्रियाको थालनी गर्न मैले महसचिवको लागि उम्मेदवारी दिने निर्णय गरेको हुँ।’ संस्थाको संचालन र कार्यविधिलाई समेत लोकतान्त्रिक विधि र प्रक्रिया अन्तर्गत संचालन गर्दै रुपान्तरण गर्न आफुले उम्मेद्वारी दिने गौतमको जिकिर छ।

‘अनि योजना चाहिं?’ सदस्यता निर्वाचनमुखी नगरी खुला गर्नुपर्ने, त्यसमा पनि पंजीकृत सदस्य नि:शुल्क हुनुपर्नेलगायतका एजेण्डा कार्यान्वयनको लागि आफ्नो उम्मेद्वारी महासचिवका लागि नै भएको उनको भनाई छ। ‘अधिवेशन भन्दा ६ महिना पहिले नै मताधिकार हुने गरी सदस्यहरुको टुंगो लगाउनु पर्छ। जसले गर्दा निर्वाचनमुखी सदस्यता अभिवृद्धिलाई रोक्न सकिन्छ। एनआरएनको सदस्यता सधैं खुला रहनुपर्छ, तर ६ महिना पहिलेसम्म सदस्य बनेकालाई मात्र आसन्न अधिवेशनमा मताधिकार दिनुपर्छ’ आफ्नो कार्ययोजनाका बारे प्रकाश पार्दै गौतमले भने।

‘विधानको कार्यान्वयन पक्ष फितलो भएकोले दृढतापूर्वक विधानको कार्यान्वयन गर्ने वातावरण बनाउनुपर्ने, एनसीसीहरुलाई हस्तक्षेप होइन, स्वायत्त छाड्नुपर्ने, आइसीसीको मेरुदण्ड मान्ने एनसीसीलाई आइसीसीले सहयोग गर्नुपर्नेलगायतका संस्थागत जिम्मेवारी महासचिवको नै बढी हुने हुनाले यिनै काम गर्न मेरो उम्मेदवारी हो’ गौतमले भने। यसबाहेक एनआरएनले निरन्तर रुपमा उठाउँदै आएको एकपटकको नेपाली सधैंको नेपाली भन्ने राजनीतिक मुद्दालाई हल गर्ने प्रयाससमेत आफुले गर्ने उनको भनाई छ। ‘म नेपालका सबै राजनीतिक दलका नेताहरुलाई यसका बारे प्रष्ट र निर्धक्क बुझाउन सक्छु र राजनीतिक संवादमार्फत नै हाम्रो माग पुरा गर्न सक्ने क्षमता राख्छु’ गौतमले भने।