बाल्टिमोर,अमेरिका। गैरआवासीय नेपाली संघ,अन्तर्राष्ट्रीय समन्वय परिषदको आगामी नेतृत्वका लागि अमेरिकाबाट जेदु पोखरेलले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। अक्टोबर दोश्रो साता एनआरएनको ११ औं महाधिवेशन र विश्व सम्मेलन नेपालमा हुँदैछ, जसबाट दुई वर्षका लागि नयाँ नेतृत्व चयन हुनेछ। ‘एनआरएनको खस्कँदो साखलाई जोगाउँदै सबैले सबैलाई अपनत्व ठान्ने एनआरएन बनाउनु हाम्रो चुनौती छ,त्यही चुनौती समाधान गर्न मैले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छु’ आफ्नो उम्मेदवारी बारे प्रकाश पार्दै पोखरलले ग्लोब नेपालसंगको संक्षिप्त कुराकानीमा भने।
आफ्नो उम्मेदवारीको निर्णय सार्वजनिक गर्दै उनले आफ्नो फेसबुकमा लेखेका छन्,-‘ गैरआवासीय नेपाली संघ जस्तो थियो त्यस्तो छैन र जस्तो हुनुपर्ने हो त्यस्तो भएन। ८५ देशमा फैलिएको हाम्रो समाज जुन अनुपातमा अघि बढ्नुपर्ने थियो तर बढेन । झनझन,झनझन बिखण्डनतिर पो अगाडी बढ्दै गयो। हामी आफ्नै ब्यक्तिगत तथा राजनीतिक महत्वकांक्षाबाट माथि उठ्न सकिरहेका छैनौं।
आउनुहोस् अब हिजोलाई बिर्सिदिउँ आजबाट शुरु गरौं। प्रतिस्पर्धा गरौं तर नतिजापछि सबै एक हौं। त्यसैले सर्वोत्तम एनआरएनएको लागि राजनीतिलाई टाढा राख्दै आगामी अक्टोवरमा हुनगईरहेको एनआरएनए आईसीसीको निर्वाचनमा उपाध्यक्ष पदमा उम्मेदवार हुने निश्चय गरेको यहाँहरुलाई अवगत गराउँदै ,यहाँहरुको साथ र सहयोगको लागि हार्दिक अनुरोध गर्दछु।’
को हुन् उपाध्यक्षमा लड्न लागेका पोखरेल ?
नेपालको पुर्ख्यौली थलो स्याङ्जाका पोखरेल विगत डेढ दशकभन्दा बढी समयदेखि अमेरिकाको मेरिल्याण्ड राज्यमा बसोवास गर्दै आइरहेका छन्। नेपाल विद्यार्थी संघमार्फत राजनीतिमा होमिएका पोखरेल नेपालमा रहँदा नेपालको चार क्यासिनोको मुख्य कार्यालय अन्तर्गतका मजदुर युनियनको संस्थापक अध्यक्ष र विश्व हिन्दू महासंघ अन्तर्गतको बिश्व हिन्दु युवा परिषदको पनि संस्थापक अध्यक्ष भएर आफ्नो सांगठनिक कुशलता देखाईसकेका व्यक्ति जेदु पोखरेल हुन।
हक्की र प्रष्ट स्वभावका पोखरेल अमेरिकामा तत्कालीन अध्यक्ष खगेन्द्र जीसीले एनआरएनको जग खन्दै गर्दा बनेको संगठनात्मक संरचना अन्तर्गत मेरिल्याण्ड राज्य च्याप्टरको संस्थापक अध्यक्ष भएर सन् २०१५-२०१७ को कार्यकालमा काम गरेका व्यक्ति हुन्। उनकै कार्यकालमा अमेरिकाको नेपाली बहुल राज्य अन्तर्गत मेरिल्याण्डमा नेपाली भाषामा सवारी चालक अनुमति पत्रको परीक्षा दिने कानुनी व्यवस्था भएको थियो। जसलाई पछि अन्य राज्यमा पनि लागू गरिएको छ। एनआरएन अमेरिकाका तत्कालीन च्याप्टर सभापतिहरुको समन्वय गर्ने काम पनि पोखरेलले नै गरेका थिए। जसमा क्यालिफोर्निया च्याप्टरका पूर्ण बानियाँ,इलिनोई च्याप्टरका सुमन वस्ती र न्यू ह्याम्प्सयर च्याप्टरका इश्वरी भट्ट लगायतका १४ च्याप्टर सभापतिहरुको बलियो साथ पोखरेललाई रहेको थियो।
सन् २०१७-२०१९ मा एनआरएन अमेरिकाको उपाध्यक्ष निर्वाचित भएर काम गरेका पोखरेलले आफु उपाध्यक्ष हुँदा न्यूयोर्क राज्यमा सवारी चालक अनुमतिको परीक्षा नेपाली भाषामा नै दिन पाउने व्यवस्था गर्न राज्य सरकारसंग मिलेर काम गरे भने एनआरएनको आफ्नै कार्यालय भवन वासिंगटन डिसी वरपर नै हुनुपर्छ भनेर पनि आवाज उठाउँदै हिंडे। अहिले एनआरएनको कार्यालय पोखरेलले आवाज उठाए जस्तै भर्जिनियामा खोलिएको छ।
यसैगरी गैर आवासीय नेपालीहरुलाई दोहोरो नागरिकता दिलाउने विषयमा नेपालका राजनीतिक दल र कानुन निर्माण गर्ने सांसदहरुसंग समन्वय र एनआरएनका हितका पक्षमा लविङ्ग गर्न एनआरएन अमेरिकाले गठन गरेको टास्क फोर्सको संयोजक भएर नेपाल गएर नै उनले आवश्यक लविङ्ग गरेका थिए। यसरी निरन्तर आफ्नो जिम्मेवारीको काममा खटिरहेका पोखरेल सन् २०१९-२१ मा एनआरएनए आइसीसी सदस्य निर्वाचित भएका थिए।
एनआरएनको विधान अनुसार आइसीसीमा विश्वका विभिन्न मुलुकबाट ६ जना उपाध्यक्ष निर्वाचित हुन्छन्।
प्रतिक्रिया