लिखुपिके गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा

लिखुपिके गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं । सोलुखुम्बुको लिखुपिके गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आइतबार ६ लाख बिगो मागदाबीसहित तीन जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्‍ता भोला दाहालले जानकारी दिए ।

वडा नम्बर २का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेत, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र तत्कालीन लेखापाल जिवन सुवेदीविरूद्ध मुद्दा दायर गरेको हो ।

वडा कार्यालयको भवन निर्माण गर्न जग्गा खरिद गरेको भन्दै अनियमितता गरेको भन्ने उजुरी परेको थियो ।

उजुरीमाथि अनुसन्धान गरेपछि उनीहरूले भ्रष्टाचार गरेको भन्दै बिगो रकम कायम गरी सजायको मागदाबी गरेको छ ।