काठमाडौं । भारतको मन्त्रिपरिषद्ले नेपालबाट १० वर्षमा १० हजार मेगावाट बिजुली किन्ने प्रस्ताव स्वीकृत गरेको छ । भारतका लागि नेपाली राजदूत शंकर शर्माले हालै बसेको भारतीय मन्त्रिपरिषदको बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको जानकारी दिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको सम्मुखमा भारतले नेपालको हितमा याे महत्त्वपूर्ण निर्णय गरेको हाे । योसँगै नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रक्रिया खुला भएको छ ।
प्रधानमन्त्री प्रचण्डले गएको जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गरेका थिए । भ्रमणका क्रममा भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने सहमति भएको थियो ।
नेपाल र भारतको प्रतिनिधिमण्डलस्तरीय बैठकपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै उक्त सहमति भएको घोषणा गरेका थिए । त्यसको तीन महिनापछि भारतको मन्त्रिपरिषद्को बैठकबाट सहमतिलाई स्वीकृति प्रदान गरिएको हो ।
नेपालले अहिले बर्खामा भारतीय बजारमा बिजुली बेचिरहेको छ भने हिउँदो समयमा भारतबाट बिजुली किनिरहेको छ ।
प्रधानमन्त्री प्रचण्ड अमेरिकाको न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भएर त्यतैबाट सिधै चीन जानेछन् । बेइजिङमा उनले चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता र चिनियाँ राष्ट्रपतिसँग असोज ८ गते शिष्टाचार भेटवार्ता गर्नेछन् ।
परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको चीन भ्रमणमा केही महत्त्वपूर्ण जलविद्युत् र विद्युत् प्रसारणलाइनसम्बन्धी एजेन्डा समावेश गरिने बताइसकेका छन् ।
भारतले चीनको सहयोगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरिद नगर्ने यसअघि नै स्पष्ट पारिसकेको छ । भारतीय सहयोग एवं भारतीय कम्पनी र नेपालको लगानीमा निर्मित आयोजनाबाट उत्पादित विद्युत् मात्र खरिद गर्ने भारतको रणनीति छ ।
प्रतिक्रिया