नेपाली राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन : नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्

नेपाली राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन : नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्नुस्



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् ।  श्रम आप्रवासन सम्बन्धी समस्या र तिनको समाधान सम्बन्धी दुई दिवसीय अन्तरक्रियामा बोल्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेकोमा ध्यानाकर्षण गराउँदै उक्त निर्देशन दिए ।

सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो । कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ ।

प्रधानमन्त्री प्रचण्डले अन्तरक्रियामा राजदूतहरूले उठाएका विषयहरू सम्बोधन गर्दै अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवद्र्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिएका हुन् । 

प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पहिलोपटक गन्तव्य मुलुकहरूका राजदुतहरूसँग छलफल कार्यक्रम आयोजना गरेकोमा धन्यवाद व्यक्त गर्दछु । नेपाली श्रमिक तथा कामदारहरूको सुरक्षित र मर्यादित आप्रवासनमा यस प्रकारको छलफलले महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु ।

पछिल्लोसमय आन्तरिक रोजगारीमा देखापरेको अप्ठ्यारो अवस्थामा वैदेशिक रोजगारीले देशको युवा जनशक्तिलाई रोजगारी सिर्जनाको क्षेत्रमा सहयोग पु¥याएको छ। र, मुलुकको भुक्तानी सन्तुलनमा सहयोग लगायत पुँजी, सीप र प्रविधिले नेपालको विकासमा महत्वपूर्ण योगदान गर्नुका साथै नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र मित्रतामा समेत सहयोग पुगेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकहरू ठगीमा पर्ने, मानव अधिकारको प्रत्याभूति र समयमै राहत उद्धार हुन नसक्नु र कार्यस्थलका विभिन्न प्रकारका जोखिममा पर्नु लगायतका समस्याहरूको सामना गरिरहेका छन्, यसको सम्बोधन हाम्रो गम्भीर चासोको विषय रहेको छ ।

समग्र नेपालीको हकहित संरक्षण हुने, न्यूनतम सेवा सुविधाको प्रत्याभूति हुने, सामाजिक सुरक्षाको सुनिश्चितता र गुनासो सुनुवाइको प्रभावकारी संयन्त्र विकास गर्दै श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्न पनि श्रम कुटनीतिलाई थप प्रभावकारी बनाउनु पर्दछ ।

कुनै पनि नेपाली नागरिक विदेशी भूमिमा समस्यामा परेको बेला कुटनीतिक नियोगहरूले गुनासो सुन्ुवाई गरेनन् भन्ने अवस्थाको अन्त्य गर्न यहाँहरूको ध्यान जानेछ । म परराष्ट्र मन्त्रालय, राजदुत र श्रम प्रशासनसँग सम्बद्ध सबै निकायहरूलाई नेपालीको हकहितको लागि गम्भीर भएर क्रियाशील हुन निर्देशित गर्दछु ।

हामीले एकातिर देशभित्रै आन्तरिक रोजगारीको अवसरहरूमा बृद्धि गर्नुपर्नेछ भने अर्कोतर्फ वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्नुपर्नेछ ।  मुलुकको समृद्धिका लागि श्रम क्षेत्रको भूमिका महत्वपूर्ण रहन्छ नै, आर्थिक कुटनीतिलाई पर्याप्त ध्यान दिनुपर्दछ । मुलुकको समृद्धिमा योगदान हुने गरी वाह्य लगानी अभिबृद्धि तथा नेपाली उत्पादनको बजारीकरणमा समेत यहाँहरूले पर्याप्त ध्यान दिनुहुनेछ । 

नेपालमा पर्यटन विकासमा प्रचुर सम्भावना हुँदाहुँदै पनि हामीले यसको पर्याप्त लाभ लिन सकेका छैनौँ । तसर्थ, विदेशी पर्यटकको आगमन वृद्धिका लागि नेपालको पर्यटन प्रवद्र्धन गर्ने कार्यमा समेत तपाईहरूले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ । व्यापार घाटा नेपालको अर्थतन्त्रको ठूलो चुनौतीका रूपमा रहिआएको छ । देशगत तथा वस्तुगत व्यापार विविधिकरण गरी व्यापार सन्तुलनलाई मुलुकको पक्षमा कायम गर्नुपर्ने भएको छ । यसमा यहाँहरूको सक्रिय भूमिका रहनुपर्दछ ।

हामीले नेपालीको हकहितलाई ध्यानमा राखेर वैदेशिक मुलुकसँग भएका श्रम सम्झौताहरूलाई पुनरावलोकन गर्न श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र राजदुतहरूले तत्काल प्राथमिकतामा राखी कार्य गर्नुहुनेछ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई प्रदान गरिने सबै प्रकारका कन्सुलर सेवाहरूलाई सूचना प्रविधिमा आधारित बनाउँदै सहज र प्रभावकारी रूपमा सेवा प्रवाह गर्न निर्देशन दिन्छु । 

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने कार्य सुरूवात भइसकेको छ । यसलाई प्रभावकारी गराउँदै गन्तव्य मुलुकमा समेत उपलब्ध सामाजिक सुरक्षाका योजनाहरूमा श्रमिक आवद्ध हुने व्यवस्था मिलाउन प्रभावकारी भूमिका खेल्नुपर्दछ । केही समयभित्रै विदेशमा रहेका सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने सरकारको लक्ष्य रहेकोमा उक्त लक्ष्य हासिल गर्न क्रियाशील रहन सम्पूर्ण राजदूतज्यूहरूमा निर्देशित गर्दछु ।

दुईपक्षीय श्रम सम्झौता पुनरावलोकन र विस्तार, मागपत्रको प्रमाणीकरण, कानुनी प्रतिरक्षा, घरेलु कामदारसँग सम्बन्धित समस्याको सम्वोधन, सुरक्षित आवास, अभिलेख नभएका श्रमिकहरूको अभिलेखीकरण लगायतका विषयमा तत्काल कार्ययोजना बनाई यहाँहरूले कार्यप्रारम्भ गर्नुहुनेछ । 

विदेशस्थित नेपाली दूतावासको कार्यक्षमताको कमि, साधनस्रोतको अभाव र नेपाली श्रमिकहरूको उद्दारका लागि समेत कठिनाइ भएका लगायतका विषय गम्भीर छन् । यस अन्तरक्रियामा महामहिम राजदूतज्यूहरूले जे–जति विषयहरू उठाउनुभएको छ, ती सबै विषयहरू मैले गम्भीरतापूर्वक सुनेको छु, महत्वका साथ टिपोट पनि गरेको छु । यी विषयहरूलाई सरकारले गम्भीरतापूर्वक लिई समस्या समाधानको पहल गर्नेछ । हिजो र आजको छलफलबाट हामी केही महत्वपूर्ण विषयमा निष्कर्षमा पुगेका छौँ। यस विषयहरूलाई सबै निकाय र पदाधिकारीहरूले पूर्णरूपमा कार्यान्वयनमा लैजान निर्देशित गर्दछु । 

यस अन्तरक्रियामा उठेका विषयहरूलाई समेटेर परराष्ट्र मन्त्रालयले कार्य सम्पादन सूचक तयार गरी कार्य सम्पादन सम्झौता हुने प्रवन्ध मिलाउनु हुनेछ । परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा नेपाल सरकारका मुख्यसचिवबाट आवश्यक समन्वय तथा नियमित रूपमा अनुगमन र सुपरीवेक्षण गरी प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ । त्यसका आधारमा सरकारले समग्र मूल्यांकनसहित कार्ययोजना बनाएर अगाडि बढ्नेछ ।

श्रम गन्तव्य मुलुकमा रहेका तपाई राजदुतहरू तथा यहाँ रहेका मन्त्रालय तथा निकायहरूबीच यस प्रकारको अन्तरक्रियाले श्रम आप्रवासनमा रहेका समस्या सम्वोधन गर्न महत्वपूर्ण सहयोग पुग्नेछ । आगामी दिनमा समेत यस प्रकारको अन्तरक्रियालाई निरन्तरता दिनेछौँ ।

अन्त्यमा, दुई दिवसीय अन्तरक्रियाले विदेशमा रहेका नेपाली श्रमिकहरूका समस्या समाधान गर्न, नेपालको कुटनीतिक क्षमतालाई सुदृढ र बिस्तार गर्न, देशभित्र विदेशी लगानीको वातावरण सिर्जना गर्न एवं नेपालको बहुआयमिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दछु, धन्यवाद ।