काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि निर्वाचन तालिका सार्वजनिक भएको छ । एनआरएनएको निर्वाचन समितिले प्रस्ताव गरेको तालिका अनुसार अक्टोवर १९ तारिख बिहीबार मतदान हुने कार्यक्रम राखिएको छ । निर्वाचन आयुक्त चिरञ्जीवी ढकालका अनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता १२ देखि १४ तारिखभित्र अनलाइन अथवा निर्वाचन समितिमा उपस्थित भएरै दर्ता गराउन सकिन्छ ।
आयुक्त ढकालका अनुसार अनलाइनमार्फत् उम्मेदवारी दर्ता गर्न पाइने तर, उम्मेदवारले प्रस्तावक र समर्थकको हस्ताक्षर सानखत गर्न अनिवार्य रुपमा निर्वाचन कार्यालयमा उपस्थित हुनुपर्नेछ ।
अनलाइनमार्फत दर्ता गरेका उम्मेदवारहरुले १६ तारिख ५ बजेसम्म निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्नु पर्नेछ । समितिमै आएर उम्मेदवारी दर्ता गर्न चाहने उम्मेदवारले अक्टोवर १५ र १६ तारिख दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्ने आयुक्त ढकालले बताए ।
सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार उम्मेदवारको अन्तिम नामावली अक्टोवर १७ तारिख साँझसम्म प्रकाशन हुनेछ । मतदान समय १९ तारिख विहान नेपाली समय १० देखि ६ बजेसम्म काठमाण्डौंस्थित सोल्टी होटलमा हुनेछ । यस्तै अनलाइनमार्फत मतदान १९ तारिख बिहान १२ बजेदेखि साँझ ८ बजेसम्म हुनेछ ।
एनआरएनएको विधानअनुरुप सो निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरु, प्रस्ताव र समर्थकसमेत निर्वाचन समितिमा अनिवार्य रुपमा उपस्थित हुन पर्ने प्रावधान रहेको छ ।
समितिका अनुसार २० सेप्टेम्बरका दिन मतदाताको पहिलो नामावली प्रकाशन गर्ने तयारी रहेको छ । मतदाताको अन्तिम नामावली २६ सेप्टेम्बरमा प्रकाशन गर्ने कार्यतालिकामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया