काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आईसीसीका पदाधिकारी र सदस्यहरुले दुई वर्षका लागि एक लाख पचास हजार लेबी बुझाउनु पर्ने हुन्छ । २०२१–२३ को कार्यकालको लागि यो रकमको लेबी बुझाउनुपर्ने विधानमा व्यवस्था गरिएको छ । एनआरएनए उपाध्यक्ष तथा पूर्वमहासचिव डा. हेमराज शर्माका अनुसार लेबी नबुझाउनेहरु विधानतः मतदाता वा उम्मेदवार हुनबाट बन्चित हुन्छन् ।
नयाँ निर्वाचनको कार्यतालिका सार्वजनिक भएसँगै उपाध्यक्ष डा. शर्माले निर्वाचन समितिलाई विधानमा भएको यो व्यवस्था स्मरण गराएका हुन् । उनले भने, ‘निर्वाचन समितिले मतदाताको नामावली प्रकाश गर्दा यी कुरामा पनि ध्यान पु¥याउनुपर्छ ।’
एनआरएनए अभियान्ता अमेरिकाबाट सत्य चौधरी भन्छन्- ‘अमेरिकाबाट धेरैले लेबी बुझाएका छैनन । लेबी नबुझाउनेहरुलाई सपथ ग्रहण गर्न र बैठकमा भाग लिन नदिने व्यवस्था गर्नुपर्ने हो, उनले भने कार्यकाल सकिएपछि पैसा उठाउने र पैसा नबुझाउनेको नाम सार्वजनिक गर्ने क्षमता कसैसँग छैन ।’
यो समस्या अमेरिकामा मात्र होइन एनआरएनले संगठन विस्तार गरेको सबै देशमा छ । नेता बन्न रुचाउने तर लेबी बुझाउन आनाकानी गर्ने प्रवृत्ति एनआरएनमा मौलाएको बताइन्छ । एनसीसीमा पनि यस्तै समस्या भएको बेल्जियमका सन्तोष न्यौपानले बताए ।
एनआरएनए आसियान महिला संयोजक भूमा लिम्बूले लेबी नबुझाउनेलाई रोक्ने हिम्मत कसैसँग नभएको बताइन् । विधानमा उल्लेख भए पनि राजनीतिक दलको आडमा विधान नमान्नेहरुलाई यसपटकको अधिवेशनमा पनि कसैले रोक्न नसक्ने उनको भनाइ थियो ।
प्रतिक्रिया