काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष नारायण आचार्यले यसपटक पनि उपाध्यक्ष पदमै उम्मेदवारी दिने घोषणा गरेका छन् । गैरआवासीय नेपालीहरुको साझा, सक्षम, पारदर्शी एवं सबल एनआरएनए बनाउने अभियानलाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आगामी अन्तर्राष्ट्रिय महाधिवेशनमा आफू उपाध्यक्ष पदमा उम्मेदवार बन्ने निर्णयमा पुगेको सामाजिक सञ्जालमा उनले सार्वजनिक गरेका छन् ।
आचार्यले एनआरएनए नेदरल्यान्ड्सको अध्यक्ष, आईसीसी सदस्य, यूरोप क्षेत्रीय संयोजक तथा गत १० औं महाधिवेशनबाट आईसीसी उपाध्यक्ष भएर संघमा काम गरिसकेका छन् । अनुभवका आधारमा पनि आगामी कार्यकालमा संसारभर रहेका एनआरएनएको मुद्दामा आवाज उठाउन आफूलाई दृढ रूपमा समर्पित गर्ने आचार्यले प्रतिबद्धता जनाएका छन् ।
गैरआवासीय नेपाली संघभित्र केही बर्षदेखि देखापरेको आन्तरिक खिचातानी तथा असमझदारीलाई अन्त गरी बिदेशमा रहेका हामीसबै एनआरएनले एनआरएनएलाई आफ्नो साझा घर र सम्पूर्ण प्रवासी नेपालीहरुलाई आफ्नो साझा परिवार सम्झन सक्ने वातावरणको निर्माण गर्नुपर्ने अहिलेको अहिलेको आवश्यकता हो, आचार्यले भने, ‘यही मर्मलाई आत्मसात गर्दै एक सबल तथा सबैलाई बिना पूर्वाग्रह नेतृत्व दिनसक्ने समिति निर्वाचित गर्ने दायित्व तपाई हामी सामु देखापरेको छ ।’
एनआरएनएको इतिहासका बिभिन्न कालखण्डहरुमा धेरै असहज परिस्थिति देखापरेको स्मरण गर्दै उनले भने ‘हाम्रा सामु देखिएका बिभिन्न चुनौतिलाई सामना गर्दै सबै एनआरएनएको साझा, सक्षम, पारदर्शी एवं सबल एनआरएनए बनाउने अभियानलाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफू उपाध्यक्ष पदमा उम्मेदवार बन्ने निर्णयमा पुगेको छु । मेरो उम्मेद्वारीलाई यहाँहरुले अनुमोदन गर्नुहुने छ भन्ने पूर्ण विश्वास लिएको छु ।’
प्रतिक्रिया