महराका बाबुछोरामाथि छानबिन गर्ने एमालेको प्रस्ताव गृहमन्त्रीद्वारा अस्वीकार

महराका बाबुछोरामाथि छानबिन गर्ने एमालेको प्रस्ताव गृहमन्त्रीद्वारा अस्वीकार



काठमाडौं । सुन तस्करी छानबिनका लागि उच्चस्तरीय आयोग बनाउने विषयमा छलफल गर्न बसेको बैठक विनानिष्कर्ष सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृहमन्त्रलायमा बसेको प्रमुख दलका नेताहरूको बैठकमा आयोग बनाउने विषयमा सहमति जुट्न नसकेको हो ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले माओवादी नेता कृष्णबहादुर महरा र उनका छोरामाथि सुन तस्करीको विषयमा अनुसन्धान गर्ने एमालेको प्रस्ताव अस्वीकार गरेका हुन् । छलफलमा एमाले सचेतक महेश बर्तौलाले सो प्रस्ताव राखेका थिए ।

राष्ट्रिय मान्यताप्राप्त दलहरुको बैठकले गत भदौ ६ गते सुन तस्करीका विषयमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग असोज ५ गते बनाउने निर्णय गरेको थियो । उक्त सहमतिमा आयोगलाई विदेशबाट सिग्रेट (भेप्स) र ब्रेक शुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुनलगायत पटकपटक तस्करी भइ सुन आइरहेकोमा यसलाई नियन्त्रण गर्न अध्ययन गरी प्रतिवेदन पेश गर्ने भनिएको छ ।

भेप प्रकरणमा माओवादी नेता महरा र उनका छोरा जोडिएका छन् । तर, आजको बैठकमा यो विषयमा अनुसन्धान गर्न गृहमन्त्रीले अस्वीकार गरेका हुन् ।

बैठकपछि एमाले सचेतक बर्तौलाले सरकार पूर्वसहमतिबाट पछि हट्न खोजेको आरोप लगाए । ‘सरकार जिम्मेवारीबोधका साथ अगाडि बढ्न र भएका सहमतिलाई पालना गर्न तयार छैन’, उनले भने ।