आठ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण

आठ दिनदेखि उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति आयोगको ध्यानाकर्षण



काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आठ दिनदेखि काठमाडौंकाे राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ‘ई’ को स्वास्थ्य अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले आज बुधवार विज्ञप्ति निकालेर साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै उभिएर धर्ना दिइरहेका ‘ई’ को स्वास्थ्य अवस्थाका बारेमा ध्यानाकर्षण भएको जनाएको हो । आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले हिजो मङ्गलवार स्थलगत अनुगमन गरे ‘ई’ र उनका साथीहरू एवम् धर्नास्थल वरपरका व्यापारीहरूसँग छलफल गरी जानकारी लिएको थियो ।

रातिको १२ बजेदेखि बिहान ५ बजेसम्म कुर्सीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, ‘ई’ का दुवै खुट्टा अस्वाभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, औषधि सेवन गरिरहेको लगायतका जानकारीहरू अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

आयोगले आफ्नो स्वास्थ्य र जीवनै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न अभियन्ता ‘ई’लाई आग्रह पनि गरेको छ ।

त्यस्तै महानगरपालिकाले यस विषयलाई संवेदनशील रूपमा नलिएको गुनासो प्रदर्शनकारीले गरेका छन् । आयोगले महानगरका अधिकारीहरूसँग छलफल गरी समस्या समाधानका लागि पहल गरिरहेको जनाएको छ ।

‘ई’ ले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने विषय मानव अधिकार र संविधानमा भएको पेसा रोजगारीको हकसँग पनि जोडिएकाले तत्कालै उनका माग पूरा गर्न आयोगले नेपाल सरकार र काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराएको छ । साथै आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न पनि आयोगले ‘ई’ लाई आग्रह गरेको छ ।

आयोगका सहसचिव एवम् प्रवक्ता टीकाराम पोखरेलले आज विज्ञप्ति जारी गर्दै भनेका छन् ‘धर्नामा रहेका व्यक्ति ‘ई’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरुको पहिचान गरी उनीहरुलाई पेशा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराउँदछ । साथै, आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रर्दशनका अन्य विकल्प खोज्न आयोग सम्बन्धित पक्षलाई पनि आग्रह गर्दछ ।’