चितवनमा हुर्किएका पुष्पा र अञ्जली कोशी टप्पुमा पुगे

चितवनमा हुर्किएका पुष्पा र अञ्जली कोशी टप्पुमा पुगे



चितवन । चितवनका दुई वटा पोथी गैँडा पुष्पा र अञ्जली आज बुधवारदेखि कोशी टप्पुमा पुगेका छन् । वंश विस्तारको योजनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा रहेका पुष्पा र अञ्जलीलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरेको आरक्षको कार्यालयले जनाएको छ ।

यी दुई पोथी गैँडा प्रजननयोग्य भएपछि भाले गैँडा ल्याउने पनि कार्यालयले जनाएको छ । पोथी गैँडा चार वर्ष र भाले गैँडा छ वर्ष पुगेपछि प्रजननयोग्य हुने आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश यादवले बताए ।

सौराहामा रहेको राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा मानिसको निगरानीमा हुर्किएका पुष्पाको उमेर तीन वर्ष आठ महिना र अञ्जलीको उमेर दुई वर्ष पाँच महिनाको रहेको छ । यी दुवै टुहुरा बच्चा हुन् ।

कोशी टप्पु पुर्‍याइएका पुष्पा र अञ्जलीलाई बस्नका लागि आरक्ष हातामा १६ फिट अग्लो र ८५ फिट लामो ‘इन्क्लोजर’ निर्माण गरेको आरक्षका प्रमुख संरक्षण अधिकृत यादवले बताए । पानीसहितको घाँसे मैदान क्षेत्रमा रहने गैँडा आरक्ष सुरक्षामा खटिएको नेपाली सेनाको प्रत्यक्ष निगरानीमा रहनेछन् ।

२०७३ सालमा अर्नाको वंश विस्तारका लागि भन्दै कोशी टप्पुबाट १२ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज पठाइएका थिए । त्यस बेला भएको अर्नाको सट्टामा गैँडा दिइने सहमतिअनुसार पुष्पा र अञ्जलीलाई कोशी टप्पुमा स्थानान्तरण गरिएको हो ।