काठमाडौं । गृह मन्त्रालयले अस्पतालमा तोडफोड तथा डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना सबै स्वास्थ्य संस्थामा सहजै देख्ने गरी राख्न निर्देशन दिएको छ ।
गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले निकालेको विज्ञप्तिमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ को संशोधन २०७९ ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्न भनिएको छ । यस्तै गृह मन्त्रालयले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीहरूमाथि भएका दुर्व्यवहारका घटनामा संलग्न दोषीलाई ऐन बमोजिम कारबाही गर्न पनि मातहतका निकायलाई निर्देशन दिएको छ ।
हिजो मङ्गलवार उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सरोकारवालाको छलफलले डाक्टरमाथि कुटपिट गर्दा हुने दण्ड सजायसम्बन्धी सूचना स्वास्थ्य संस्थामा राख्ने र कुटपिट तथा तोडफोडमा संलग्नलाई कारबाही गर्ने सहमति भएको थियो ।
गृह मन्त्रालयले विज्ञप्तिमार्फत आन्दोलनमा रहेका स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आह्वान पनि गरेको छ । तर डाक्टरहरूले भने दोषीमाथि कारबाही नभएसम्म आन्दोलन नरोक्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन् ।
प्रतिक्रिया