लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । डा. शर्माले बुधवार एक विज्ञप्ति जारी गर्दै संघको अभियान र समग्र गैरआवसीय नेपालीको हितमा हुने विश्वास लिँदै आम सहमतिको लागि मार्गप्रशस्त गर्न पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने निचोडमा पुगेको बताएका छन् । उनले यसअघि संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।
विज्ञप्तिमा एनआरएनए जस्तो सामाजिक संस्थामा तछाड–मछाड गरेर नेतृत्व लिनु भन्दा धैर्यताका साथ आपसी समझदारी, सहकार्य र सहमतिले अगाडि बढ्नु नै उपयुक्त हुने उल्लेख छ । डा. शर्माले विज्ञप्तिमा प्रविधिको प्रयोग गरी संस्थाको रुपान्तरण र सबैको साझा, सबल र स्मार्ट एनआरएनए निर्माण गर्ने अभियानलाई थप सशक्त र प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । शर्माले संस्थालाई रि-ब्राण्डिङ गर्ने स्पष्ट मार्गचित्रसहित प्रतिनिधि समक्ष आउने बताए ।
को हुन् डा. हेमराज शर्मा
संघको पूर्वप्रवक्ता तथा महासचिवको जिम्मेवारी समालेका डा. शर्माले महासचिवको बागडोर समालेपछि स्मार्ट एनआरएनए अन्तर्गत विश्वभर छरिएका ८० भन्दा बढी देशका पञ्जिकृत सदस्यहरुलाई केन्द्रीय प्रणालीमा जोड्ने, अनलाइन भोटिङ, निःशुल्क प्रतिनिधि दर्ताजस्ता महत्वपूर्ण निर्णयहरु विशेष महाधिवेशनमार्फत विधान संशोधन गरेर संघलाई रुपमान्तरण बाटोमा अघि बढाएका छन् ।
कुशल प्रशासक समेत रहेका डा.शर्माले काठमाडौंस्थित संघको सचिवालयलाई चुस्त राख्न र पुनरसंरचना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । डा. शर्माले विश्वव्यापी कोरोना महामारीमा विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारको लागि संयुक्त राष्ट्रसंघ समक्ष पुगेर गैरआवासीय नेपाली संघलाई पहिलो पटक अन्तराष्ट्रिय दातृ निकायसँग सहकार्यको सुरुवात गरेका थिए ।
बाग्लुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सकृय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित छन् । उनले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल समेत हासिल गरेका छन् । उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गरेका थिए भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गरे । उनले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गरेका हुन् ।
सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत गएसँगै त्यहाँको आइसीसी सदस्यमा मनोनित भएका थिए । उनी एनआरएनए विधान समितिका संयोजक समेत थिए। संघका संस्थापक नेताहरु तथा सबै पूर्वअध्यक्षहरुसँग निकट रहेर काम गरेको अनुभव बटुलेका शर्माले पूर्वअध्यक्ष जीवा लामिछानेको कार्यकालमा प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए ।
५० भन्दा बढी विद्यार्थीको विद्यावारिधि ‘सुपरभाइज’ गरिसकेका उनले आफ्नो नेतृत्वमा गत वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय विज्ञ सम्मेलन गरेका थिए । डा.शर्मा संघको परिमार्जित नयाँ विधान २००७ को खाका र नियमावलीका मस्यौदाकार समेत हुन् ।
डा. शर्माको विज्ञप्तिको पूर्णपाठ
आदरणीय गैरआवासीय नेपाली दाजु भाई तथा दिदी बहिनीहरू,
आगामी अक्टोबरको आसन्न गैरआवासीय नेपाली संघको निर्वाचनमा मेरो उम्मेदवारीबारे यहाँहरुले देखाउनु भएको चासो प्रति हार्दिक आभार व्यक्त गर्दछु ।
राष्ट्रिय समन्वय परिषद्को महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, प्रवक्ता, महासचिव हुँदै अहिले उपाध्यक्षको जिम्मेवारी सम्हालिरहँदा तपाईहरुले मबाट राख्ने अपेक्षा, मप्रतिको चासो स्वभाविक नै हो । यस अवधिमा मेरो कामको समिक्षा र मूल्यांकन तथा मेरो क्षमताको कदर गर्दै अबको नेतृत्व मैले लिनु पर्छ भन्ने यहाँहरुको सुझावलाई म हृदयदेखि नै सम्मान गर्छु र मप्रतिको विश्वास र भरोसाप्रति कृतज्ञ छु ।
यहाँहरुको अपेक्षा अनुसार म संस्थाको नेतृत्व लिन सक्षम पनि छु । तर झण्डै १८ वर्षदेखि एनआरएन अभियान मेरो लागि सदैव एक पवित्र अभियानकै रुपमा रहँदै आएको छ । संस्थालाई जहिले पनि जोडेर राख्नुपर्छ र यो पवित्र अभियान जीवन्त बनाउनुपर्छ भन्नेमा म अडिग छु ।
वर्तमान अध्यक्षज्यूहरु र केही पदाधिकारी साथीहरुले पनि अध्यक्ष पदमा उम्मेदवारी अघि सारेको अहिलेको अवस्थामा सहमतिबाटै नेतृत्व चयन गर्न सक्यो भने यस महान अभियान र समग्र गैरआवसीय नेपालीको हितमा हुने विश्वास लिँदै आम सहमतिको लागि मार्गप्रशस्त गर्न पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने निचोडमा पुगेको छु ।
मलाई थाहा छ, मेरो यो निर्णयले पक्कै पनि मेरा शुभचिन्तकहरुलाई निराश बनाउने छ । तर एनआरएनए जस्तो सामाजिक संस्थामा तछाड–मछाड गरेर नेतृत्व लिनु भन्दा धैर्यताका साथ आपसी समझदारी, सहकार्य र सहमतिले अगाडि बढ्नु नै उपयुक्त हुन्छ भन्ने विगतबाट सिकेको पाठ हामी माझ छ ।
अतः अध्यक्ष पदका अन्य आकांक्षी साथीहरुलाई पनि सहमतिमा नेतृत्व चयन गर्ने वातावरण बनाउनु हुन अनुरोध गर्दछु ।
प्रविधिको प्रयोग गरी संस्थाको रुपान्तरण र सबैको साझा, सबल, र स्मार्ट एनआरएनए निर्माण गर्ने मेरो अभियानलाई थप सशक्त र प्रभावकारी रुपमा अघि बढाउने छु । संस्थालाई रिब्राण्डिङ गर्ने स्पष्ट मार्गचित्रसहित यहाँहरु समक्ष छिट्टै आउनेछु र यहाँहरुको सहयोग अपेक्षा गरेको छु ।
डा हेम राज शर्मा
उपाध्यक्ष, गैरआवासीय नेपाली संघ
२७ सेप्टेम्बर २०२३
लिभरपुल, युके
प्रतिक्रिया