काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात

काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात



काठमाडौं । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा इन्टर्न डाक्टरमाथि हातपात भएको छ ।

आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण भएको अस्पतालका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

उनका अनुसार मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले कुटपिट गरेका हुन् ।

थप जाँचका लागि सिनियर डाक्टर आउँदै हुनुहुन्छ भन्दाभन्दै बिरामीका आफन्तहरूले उपचारमा ढिलाइ गरेको भन्दै आफूमाथि आक्रमण गरेको डा.खड्काले बताए ।

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले रुपक गौतम र सरोज गौतमलाई पक्राउ गरेको छ ।

अहिले अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी अस्पताल अगाडि सडकमा बसेर धर्ना दिइरहेका छन् ।

यसअघि पोखराको मणिपाल अस्पताल,हेटौडाको सञ्चो अस्पतालका चिकित्सकमाथि आक्रमण भएको थियो । उपचारमा खटिएका चिकित्सकमाथि आक्रमण भएपछि लामो समयदेखि आन्दोलनमा उत्रिएका चिकित्सक र सरकारबीच शनिबार मात्रै सहमति भएको थियो ।