एनआरएनए उपाध्यक्षमा जर्मनीका पूर्वअध्यक्ष मोक्तानद्वारा उम्मेदवारी घोषणा

एनआरएनए उपाध्यक्षमा जर्मनीका पूर्वअध्यक्ष मोक्तानद्वारा उम्मेदवारी घोषणा



जर्मनी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी महाधिवेशनका लागि जर्मनीका पूर्वअध्यक्ष विजय मोक्तानले आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

मोक्तानले २०२१-२३ को कार्यकालका लागि अग्रज तथा साथीहरुले आग्रह गर्दा पनि आफूले मार्गप्रसस्त गरेको हुँदा अहिले सबैले आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । उनले आइसीसी सदस्यदेखि एनसीसी तथा आइसीसीको विभिन्न कार्यदलहरुमा रहेर काम गरिसकेको अनुभव रहेको दावी समेत गरेका छन् ।

सामूहिक ऐक्यबद्धता, संस्थागत विकास, पारदर्शिता, जवाफदेहिता र समावेशिताका साथमा एनआरएनएलाई सबै नेपालीहरुको साझा संस्था बनाउने प्रतिबद्धताका साथ आफ्नो उम्मेदवारी रहेको उनले उल्लेख गरेका छन् ।

संसारभरि रहेका नेपालीहरुसँग रहेको सीप, पूँजी र प्रविधि नेपाल लैजानुको साथै संसारभरि हुर्कदै गरेको दोश्रो पुस्तालाई नेपालसँग जोड्नु पनि आफ्नो प्राथमिकता रहेको मोक्तानको भनाइ छ। एनआरएन नागरिकताको सहज कार्यान्वयनका साथै वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरताका लागि पनि आफूले काम गर्ने उनले बताएका छन् ।

मोक्तानले विश्वभर रहेका अग्रज तथा डेलिगेटहरुसँग अपील गर्दै सहयोग, सल्लाह र सुझावसहित आफूलाई मतदान गरी विजय गराउन अनुरोध गरेका छन् । गैरआवासीय नेपाली संघको ११ औं महाधिवेशन यहि अक्टोवर १७ देखि २० सम्म काठमाडौंमा हुँदैछ।