नयाँ नोट सटही असोज २९ गतेदेखि

नयाँ नोट सटही असोज २९ गतेदेखि



काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँ, तिहारलगायत चाडबाडलाई लक्षित गरी यही असोज २९ गतेदेखि नयाँ नोट सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले आज सूचना जारी गर्दै नयाँ नोट सटही सुविधाबारे जानकारी दिएको हो ।

राष्ट्र बैंकले हरेक वर्ष चाडबाडमा नयाँ नोट सटहीको सुविधा दिँदै आएको छ । काठमाडौं उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ । वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ ।

काठमाडौं उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

यस वर्ष पनि गतवर्ष जस्तै चाडपर्वका लागि सबै दरका गरेर प्रतिव्यक्ति साढे १८ हजार हाराहारीमा नोट सटही गरिने छ ।

सर्वसाधारणले रु. ५, रु. १०, रु. २०. रु. ५० र रु. १०० दरका एक-एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम १८ हजार ५ सय रुपैयाँका नयाँ तथा सफा नोट सटही गर्न पाउने छन्। करिब १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट सटही हुने लक्ष्य स्वरूप तयारी भइरहेको छ ।