सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी फेरि स्थगित

सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी फेरि स्थगित



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ । नाबालिग बलात्कारको अभियोगमा सन्दीपविरुद्ध एक वर्षअघि मुद्दा दायर गरिएको थियो ।

मुद्दामा विभिन्न आदेशसहित फैसला सर्दै आएको थियो । पछिल्लो समय भने लगातार पेसी नै स्थगित हुँदै आएको छ ।

काठमाडौं जिल्ला अदालतमा बिहीबारका निम्ति तोकिएको सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश अभावका कारण हुन नसकेको बताइएको छ । अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार न्यायाधीश अभावकै कारण जिल्ला अदालतका ३० मध्ये आज २१ फाँट मात्र इजलास बसेको छ ।

३० न्यायाधीश रहने काठमाडौं जिल्ला अदालतमा ६ जना सरुवा भएर आउनै बाँकी छ । तीन न्यायाधीश बिदामा छन् । बिहीबारको पेसी तोकिए पनि भएका न्यायाधीशले गोला टिप्दा सन्दीपको मुद्दा नपरेको बताइएको छ ।

हालसम्म ३० पटक साप्ताहिक तारेख र पूरक सहित २६ पटक पेशीमा चढेको उक्त मुद्दा वैशाख २४ गते नै अन्तिम सुनुवाइ हुने भनिए पनि विविध कारण अन्य आदेश हुँदै पर धकेलिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले सन्दीपविरुद्धको मुद्दाको चाँडो सुनुवाइ गर्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आदेशमा उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश भए पनि विविध कारणले उक्त मुद्दाको सुनुवाइ सर्दै आएको छ । अन्तिम सुनुवाइपछि नै सन्दीपले अभियोग दाबीबाट सफाइ पाउने वा दोषी ठहर हुने भन्ने निर्क्योल हुनेछ । सन्दीप दोषी ठहर भएमा कम्तीमा १० वर्षको जेल सजाय भोग्नुपर्नेछ ।