काभ्रेमा महत्वपूर्ण सडक स्तरोन्नति हुँदै

काभ्रेमा महत्वपूर्ण सडक स्तरोन्नति हुँदै



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकमा महत्वपूर्ण सञ्जालका रहेका करिब डेढदर्जन सडक स्तरोन्नति गरिँदैछ । चालु आर्थिक वर्षमा महत्वपूर्ण मानिएका १६ कच्ची सडक पक्की(कालोपत्र) तथा ग्राभेल गर्न थालिएको छ।

देश सरकारले जिल्लाको पूर्वाधार विकास कार्यालयमार्फत चालु आवमा १८ सडकलाई बहुवर्षीय योजनाका रूपमा अघि बढाएको हो । कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इञ्जिनीयर राजु श्रेष्ठका अनुसार बहुवर्षीय योजनाका रूपमा रहेका १६ महत्वपूर्ण सडकमध्ये केही सडक गतवर्ष सुरु गरिएका थिए ।

‘चालु आवमा सञ्चालन हुने योजनाको लागत स्टिमेट तयार गर्नेलगायत काम भइरहेको छ’, उनले भने । जनमुक्ति मार्गअन्तर्गत करिब रु ६२ करोडको लागतमा १७ किलोमिटर लामोे पिन्थली–रजवास–भूमिचुली–बुढाखानी–देवीटार सडकखण्डमा कालोपत्र भइरहेको छ । उक्त सडक कालोपत्र गर्न समपूरक अनुदानतर्फ चालु आवमा संघीय सरकारले रु २० करोड र प्रदेश सरकारले रु २० करोड विनियोजन गरेको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

उनका अनुसार महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार–घर्तीछापखण्डमा आठ किलोमिटर सडक कालोपत्र गर्ने काम भइरहेको छ । यसका लागि चालु आवमा रु चार करोड विनियोजन भएको छ । यस्तै महाभारतकै देवीटार–घर्तीछाप–गोकुले पाँच किलोमिटर लामो सडकखण्ड कालोपत्र गर्न रु ३९ करोड लागत अनुमान गरिएकामा यस वर्ष रु सात करोड विनियोजन भएको जनाइएको छ ।

यसैगरी यसवर्ष जनमुक्ति मार्गअन्तर्गत नै दोस्रो सडकखण्ड पिन्थली–भूमिचुली सडकका लागि रु एक करोड, खानीखोला गाउँपालिकाको तालढुङ्गादेखि शिक्रेदोभानसम्मको सात किलोमिटर सडकखण्ड स्तरोन्नतिका लागि रु चार करोड विनियोजन भएको छ । यी दुई सडकखण्डमा भने यसैवर्ष ठेक्का लगाइ बहुवर्षीय योजनामा समावेश गर्न पहल गरिने भएको हो ।

यस्तै चालु आवमा रोशी गाउँपालिकाको कटुञ्जेदेखि खार्पाचोक–लेखापाटी–सुङ्गुरे–बुढाखानी–फोक्सिङटार गोकुले–तालढुङ्गा सडकअन्र्तगतको १४ किलोमिटर सडक कालोपत्र गर्न रु सात करोड विनियोजन भएको छ । सो सडक सम्पन्न गर्न रु ६९ करोड लागत अनुमान गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए । उनका अनुसार यसैवर्ष मण्डनदेउपुर नगरको सिपाघाट–चुरीथुम्का–कात्तिके सडकका लागि पनि रु आठ करोड विनियोजन भएको छ ।

उक्त सडकले काभ्रेपलाञ्चोकसँग सिन्धुपाल्चोक, भक्तपुर र ललितपुर जोड्ने छ । चालु आर्थिक वर्षमा जिल्लाको भुम्लु गाउँपालिकाको हबेली–सापिङ–सिम्थली–बाङ्गो सिमल–बाफल सडक स्तरोन्नति तथा कात्तिके–नगरकोट सडकखण्ड कालोपत्र गर्न रु चार-चार करोड विनियोजन गरिएको छ । यस्तै चाँरीदेउराली गाउँपालिकामा चौरीखोला करिडोर निर्माणका लागि आठ करोड, छेडा–कुर्थली,–सलम्बु–चौरीखोला सडक स्तरोन्नतिका लागि सात करोड, पाँचखाल बोहोरेदोभान सडक कालोपत्रका लागि रु ११ करोडमा ठेक्का सम्झौता भई काम भइरहेको कार्यालयले जनाएको छ ।

उक्त कार्यालयले चालु आवमा काभ्रेपलाञ्चोकमा १६ महत्वपूर्ण सडकसँगै २० वटा मोटर पुल, एक झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको जनाएको छ । कार्यालयले हाल जिल्लाका स्थानीय तहलाई विनियोजित योजनाबारे जानकारी दिई योजनाको लागत अनुमान तयार गर्ने काम भइरहको जनाउँदै दशैँपछि योजनाको कार्यान्वयन गरिने कार्यालय प्रमुख श्रेष्ठले बताए ।

यसैबीच उक्त कार्यालयले चालु आवमा काभ्रेपलाञ्चोक र भक्तपुरमा सडक, सडक पुल, झोलङ्गे पुल र ट्रस पुल गरी करिब तीन सय ५० वटा योजनामा काम गर्ने जनाएको छ । यसमध्ये करिब साढे दुई सय योजना मात्रै कार्यान्वयनमा लगिने छ । चालु आवमा कार्यान्वयन हुने ती योजनाका लागि रु दुई अर्ब ३७ करोड विनियोजन भएको छ ।