काठमाडौं । राजधानीमा हिजो सम्पन्न गैर आवासीय नेपाली संघको ११ औं अधिवेशनसंगै निर्वाचन परिणामले संघलाई पुन: विभाजनको संघारमा पुर्याएको छ। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सार्वजनिक परिणामलाई अध्यक्षका प्रत्यासीद्वय महेश श्रेष्ठ र आर के शर्माले स्वीकार गर्न नसक्ने भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन्।
सार्वजनिक परिणाम अनुसार, अध्यक्षमा डाक्टर बद्री केसी निर्वाचित भएका छन्। उनले एक हजार ३ सय ७८ मत ल्याएको उल्लेख छ भने आर के शर्माले एक हजार २ सय ८१ र महेश श्रेष्ठले एक हजार २ सय २५ मत प्राप्त गरेको विवरण सार्वजनिक गरिएको छ। सार्वजनिक गरिएको मत परिणामलाई श्रेष्ठ र शर्माले स्वीकार गर्न नसकिने बताएका छन्। उपाध्यक्षका प्रत्यासी मध्येका एक अमेरिकाका डाक्टर केशब पौडेलको प्रत्यक्ष मतदानमा शून्य मत सार्वजनिक गरेपछि विवाद सिर्जना भएको हो।
अष्ट्रेलियन कम्पनी भेरोको अनलाईन प्रविधिमार्फत सम्पन्न मतदानमा राजधानीमा भेला भएका प्रतिनिधिहरुले प्रत्यक्ष मतदान गरेका थिए। तर यसरी गरिएको मतदानमा निवर्तमान कार्य समितिका महासचिव समेत रहेका डाक्टर पौडेलका पक्षमा शून्य मत प्राप्त भएको परिणाम सार्वजनिक भएपछि उत्पन्न विवादले एनआरएनको छबी नै धमिल्याएको छ।
बिहीवार राती सार्वजनिक परिणामप्रति आफुहरुको असहमति रहेको भन्दै शुक्रवार बिहान अध्यक्षका प्रत्यासीद्वय श्रेष्ठ र शर्माले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,- ‘अनलाइन भोटिङ सिस्टम ह्याक गरेर उपाध्यक्ष पदका उम्मेदवार डा.केशव पौडेलको मत शून्य देखाइएको छ । भेरोको नाउँमा अनलाइन सिस्टम कब्जा गरिएको छ र अध्यक्षका उम्मेदवार बद्री केसीले पाएको मत मात्रै जोड्ने हो भने मतदाताको संख्या भन्दा बढी हुन्छ । यस्तो निर्वाचन परिणाम स्वीकार गर्न सक्ने कुनै आधार छैन ।’
‘पूर्वनियोजित रुपमा सेटिङ गरी गरिएको कथित नतिजा घोषणा हामीलाई मान्य छैन,’ श्रेष्ठ र शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। घोषित निर्वाचन नतिजा अविश्वसनीय र त्रुटिपूर्ण रहेको उनीहरुको भनाइ छ ।
यसैबीच निर्वाचन समितिले शून्य मत आएकोप्रति भेरो कम्पनीसँग सत्यतथ्य जानकारी मगाएको बताएको छ । ‘विद्युतीय माध्यमबाट भएको निर्वाचन परिणाम भेरो भोटिङले निर्वाचन समितिलाई इमेलमार्फत प्रेसित निर्वाचन परिणाम जस्तातस्तै बाचन गरेर सुनाउने क्रममा एक जना उम्मेदवारको नेपालबाट प्राप्त मत परिणाम शून्य उल्लेख भएको कारण विवाद सिर्जना भएको र भेरो भोटिङसँग वास्तविक जानकारी लिइ सत्य तथ्य सार्वजनिक गरिनेछ,’ निर्वाचन समितिले जारी गरेको सूचनामा उल्लेख छ। निर्वाचन परिणाम बारे विवाद उत्पन्न भएपछि अहिले पनि सोल्टी होटलमा प्रतिनिधिहरुका बीच पक्ष र विपक्षमा नारा जुलुस भैरहेको छ।
श्रेष्ठ र शर्माले जारी गरेको विज्ञप्ति जस्ताको तस्तै
प्रतिक्रिया